नुवाकोटमा एक वर्षमा सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु
नुवाकोट,साउन ८ । नुवाकोटमा एक वर्षमा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। २०८० साउनदेखि २०८१ असार मसान्तसम्म नुवाकोटका विभिन्न स्थानमा भएका यातायात दुर्घटनाबाट १२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
सो अवधिमा ८८ सवारीसाधन दुर्घटनामा परेका थिए। दुर्घटनामा परी मृत्यु हुनेमा ९ पुरुष र ३ जना महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जेजंग कार्कीले जानकारी दिए।
ती दुर्घटनामा परी १७१ जना घाइते भएको कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा नुवाकोटमा सवारी दुर्घटनामा परी १४/१४ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा ११ जनाको मृत्यु भएको थियो।