नेपाली अटो बजार विद्युतीय गाडीले भरिभराउ



काठमाडौं,साउन ७ । एक वर्षमा साढे २९ अर्ब बराबरको ११ हजार बढी विद्युतीय सवारी (कार, जीप र भ्यान) आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्याङ्कले यस्तो देखाएको हो ।

गत वर्ष ११ हजार ७०१ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । विभागका अनुसार २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँ बराबरको गाडी आयात भएको हो । यो अघिल्लो वर्षको तुलनामा भने २.८८ गुणा बढी आयात भएको छ । अघिल्लो आवमा ११ अर्ब ८४ करोड ८ लाख ९५ हजार रुपैयाँ बराबरको ४ हजार ५० वटा गाडी नेपाल भित्रिएका थिए ।

पछिल्लो समय नेपालमा ठुलो परिणामा विद्युतीय सवारी आयात हुने गरेको छ । नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिकिा र इन्डोनेसिया लगायतका मुलुकहरुबाट विद्युतीय गाडी आयात हुने गरेको छ । हाल ती मुलुकहरुबाट ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका इभि आयात हुँदै आएका छन् ।

हाल नेपालमा विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू उपलब्ध छन् । हाल बिवाइडी, हुण्डाई, किया, महिन्द्रा, टाटा, एमजी र जस्ता चर्चित ब्रान्डको विद्युतीय कारहरू नेपालमा धेरै लोकप्रिय छन् ।

नेपालमा विद्युतीय सवारीप्रतिको क्रेज बढ्दो नै छ । बजार माग नै उच्च रहेकाले आयात पनि वर्षेनि बढेको व्यवसायीहरु बताउँछन् । सरकारले पनि विद्युतीय सवारीलाई नीति मार्फत नै प्रोत्साहन गरेकाले थप सहजता भएको उनीहरुको भनाई छ। नियामक निकायहरुले अपनाएको नीतिगत लचकताले पनि विद्युतीय सवारी खरिदमा प्रोत्साहन गरिरहेको छ । यता, बैंक तथा वित्तीय संस्थाहरुले सहज फाइनान्सको सुविधा प्रदान गरेका छन् । अधिकांश विद्युतीय गाडी खरिदमा विभिन्न स्किम नै ल्याएका छन् यसले पनि इभि खरिदको आँकडा बढाएका छ ।

हाल नेपाल औसत मासिक ९७५ वटा इभि भित्रने गरेको छ । विभागका अनुसार गत असारमा भने औसत कम २३५ वटा मात्रै आयात भएको छ । तर, जेठ महिनामा भने हालसम्मकै उच्च अर्थात २ हजार ९६९ वटा इभि आयात भएको थियो । जेठमा ७ अर्ब ९१ करोड २४ लाख १८ हजार रुपैयाँ बराबरको इभि आयात भएको हो ।

गत बैशाखमा पनि ३ अर्ब ५९ करोड ३० लाख ७० हजार रुपैयाँ बराबरको १ जहार ४०४ वटा आयात भएको थियो । विभागका अनुसार गत चैतमा ६५८ वटा, फागुनमा २७५ वटा, माघमा १ हजार ५२, पुसमा १ हजार ४२१ वटा इभि नेपाल भित्रिएका थिए । यस्तै, मंसिरमा ८९९ वटा, कात्तिकमा ६५२, असोजमा १ हजार २३७, भदौमा ७८८ र साउनमा ११० वटा इभि आयात भएको विभागले जनाएको छ । एक वर्षमा इभि आयातबाट सरकारले १३ अर्ब २८क रोड ६७ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ।

व्यवसायीहरुका अनुसार इभिमा अपरेसन लागत पनि कम लाग्ने भएकाले सर्वसाधारण आकर्षण बढेको हो । पेट्रोलियम पदार्थबाट चल्ने गाडी भन्दा कम खर्च लाग्ने, वातावरण अनुकूल र स्वास्थ्यका लागि समेत राम्रो हुने भएकाले विद्युतीय सवारी आम प्रयोगकर्ताको रोजाइमा परेको उनीहरुको भनाई छ । लामो दुरीमा गाडी चलाउँदा वा घरमा खरिदकर्तालाई प्रोत्साहन हुनेगरि आवश्यक पूर्वाधार पनि बिस्तारै बन्दै गएकाले पनि आकर्षण बढेको बताइन्छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबाट पनि चार्जिङ्ग स्टेसन निर्माणका भइरहेका छन् ।

चिनिया गाडीको कब्जामा नेपाली इभि बजार,कस्ता गाडी कहाँबाट कति आयात ?

नेपालमा छिमेकी दुई मुलुकसहित विश्वका आधा दर्जन देशबाट विद्युतीय सवारी आयात हुने गरेको छ। हाल ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका इभि नेपाल भित्रने गरेको छ।

आयातको आँकडाअनसार नेपालमा सबैभन्दा धेरै १०० किलोवाट तौलक्षमताका अनुसार ६ हजार ८८५ वटा गाडी आयात भएको छ । यस्तै, ५० किलोवाट तौलक्षमताका ४ हजार ५७१ वटा गाडी आयात भएका छन् । यस्तै, १०० देखि २०० किलोवाटका २१७ वटा र ३०० किलोवाटका २८ वटा गाडी आयात भएका छन् ।

देशका आधारमा भने चीनबाट सबैभन्दा धेरै आयात हुने गरेको छ । नेपाली इभि बजार चीनको कब्जामा देखिएको छ। कुल इभि आयातको ६८.८० प्रतिशत हिस्सा चिनको छ । चीनबाट गत वर्ष २२ अर्ब १ करोड ३ लाख रुपैयाँ बराबरको ८ हजार ५१ वटा इभि नेपाल भित्रिएको थियो ।

यस्तै, भारतबाट भने २ हजार २७७ वटा इभि आयात भएका छन् । गत वर्ष ६ अर्ब १६ करोड ६० लाख रुपैयाँ बराबरका इभि भारतबाट आयात भएका थिए ।

विभागका अनुसार इन्डोनेसियाबाट १५० वटा, कोरियाबाट ८२ वटा, जर्मनबाट २१ वटा, अमेरिकाबाट ९ वटा र बेलायतबाट १ युनिट विद्युतीय गाडी आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्