चार वर्षमा ३३२ जनाको ज्यान गयो



प्युठान,साउन ७ । जिल्लामा आत्महत्याको घटना जटिल खालको सामाजिक समस्याको रूपमा देखिन थालेको छ । बर्सेनि आत्महत्याका घटना बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानको चार वर्षको तथ्याङ्कलाई अध्ययन गर्दा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको देखिएको छ । जिल्लामा भएको अपराधका घटनामध्ये सबैभन्दा बढी आत्महत्याका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले बताए । 

आर्थिक वर्ष २०७७–७८ देखि २०८०–८१ सम्म ३३२ जनाले आत्महत्या गरेको थापाले जानकारी दिए । आत्महत्या गर्नेमा १८ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्ति बढी देखिएका छन् । सो समूहका १५२ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी ६२ जना बालबालिकाले आत्महत्या गरेको तथ्याङ्क छ । ६० वर्ष माथिका ज्येष्ठ नागरिक ३१ जना छन् ।

प्रहरीले आत्महत्या न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दैआएको छ । सामाजिक विभेद, लैङ्गिक हिंसाविरुद्ध, कुलतविरुद्ध, बालविवाह विरुद्धका अभियानमा आत्महत्या न्यूनीकरणका सूचना समेत जोड्ने गरेको प्रहरी प्रमुख थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्