प्रधानमन्त्री ओलीलाई दुईतिहाइ सांसदले दिए विश्वासको मत
काठमाडौं,साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाका दुईतिहाइ सांसदले विश्वासको मत दिएका छन् ।
आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मत दिए । उक्त संख्या प्रतिनिधिसभाको कुल सदस्य संख्याकै दुई तिहाइभन्दा बढी हो । २७५ सदस्यीय प्रतिनिधिसभाको दुईतिहाइ संख्या १८४ हुन्छ ।
प्रधानमन्त्री ओलीलाई ७४ जना सांसदले भने विश्वासको मतको विपक्षमा मतदान गरे । यस्तै, १ जना सांसद भने तटस्थ रहे ।
गत असार ३० गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले संवैधानिक व्यवस्थाबमोजिम आइतवार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएका हुन् । संविधानको धारा ७६ (४) मा धारा ७६ (२) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
यसअघि गत असार २८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि नेपाली कांग्रेससहितको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका हुन् ।