पर्यटन विज्ञ सम्मेलन गर्दै भरतपुर महानगर



चितवन,साउन ५ । भरतपुर महानगरपालिकाले अन्तरराष्ट्रिय पर्यटन विज्ञ सम्मेलन गर्ने भएको छ । आगामी ६ महीनाभित्र ५० भन्दा बढी देशका विज्ञको सहभागितामा महानगरले ‘अन्तरराष्ट्रिय पर्यटन विज्ञ सम्मेलन २०२४’ आयोजना गर्न लागेको हो ।

‘घुमौं भरतपुर २०२४’ अभियान सफल बनाउन र दिगो पर्यटन विकास गर्ने उद्देश्यले महानगरले अन्तरराष्ट्रिय पर्यटन विज्ञ सम्मेलनको तयारी गरेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । उनका अनुसार सम्मेलनमा संयुक्त अधिराज्य बेलायत, मलेसिया, म्यानमार, अष्ट्रेलिया, भारत, बंगलादेश लगायत ५० भन्दा बढी राष्ट्रका विज्ञलाई सहभागी गराइनेछ । सम्मेलनमा कानूनविज्ञ, डाक्टर, वकिल, इन्जिनियर, पूर्व मन्त्रीलगायत सरोकारका क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहनेछ । ‘आर्ट डु इन्टरनेशनल’ नामक संस्थाका अध्यक्ष दिवस घिमिरेका अनुसार अधिकांश देशमै पुगेर निमन्त्रणा दिने काम भइसकेको छ । अब १६ राष्ट्रका विज्ञलाई मात्र आमन्त्रण गर्न र महानगर भ्रमण वर्षको प्रतीक (झण्डा) प्रदान गर्न बाँकी छ । 

सम्मेलनमा संयुक्त राष्ट्र संघका पूर्वमहासचिव वान कि मुनको विशेष सहभागिता रहनेछ । अध्यक्ष घिमिरे बुधवार गैरआवासीय नेपाली संघ, कतारको निमन्त्रणामा भरतपुर भ्रमण वर्षको झण्डासहित कतार गएका छन् । कतारमा रहँदा उनले भरतपुरको पर्यटन प्रवर्द्धन कार्यक्रम गर्नुका साथै त्यहाँका विज्ञहरूलाई निमन्त्रणा गर्नेछन् ।

भरतपुर महानगरपालिकाले आर्ट डु इन्टरनेशनल (नेपाल)सँगको सहकार्य र समन्वयमा अन्तरराष्ट्रिय विज्ञ सम्मेलन गर्न लागेको हो । सम्मेलनले भरतपुरको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने महानगर प्रमुख दाहालले बताइन् । सम्मेलन भरतपुरका लागि गौरवको विषय समेत रहेको उनकोभनाइ छ ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले यो सम्मेलन भरतपुर महानगरपालिकाका लागि मात्र नभई चितवनसहित देशकै लागि नयाँ र फरक खालको कार्यक्रम हुने बताए । पर्यटन क्षेत्रमा दिगोपन ल्याउन पनि यो सम्मेलन महत्त्वपूर्ण हुने अपेक्षा उनको छ । 

प्रतिक्रिया दिनुहोस्