महिला एसिया कपमा नेपालको विजयी सुरुवात : यूएई ६ विकेटले पराजित



काठमाडौ,साउन ४ । एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले यूएईमाथि ६ विकेटको शानदार जित निकालेको छ । 

श्रीलङ्काकाे ‘डांबुला स्टेडिएम’मा भएको  खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गरेको यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ११८ रन बनाउँदै भेट्टाएको हो । 

नेपालको जितमा सम्झना खड्काले ४५ बलमा नटआउट ७२ रन बनाए । उनले ११ चौकाको मद्दतमा शानदार अर्धशतक बनाएका हुन्  । उनको यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको पहिलो अर्धशतक हो । 

नेपालका लागि  रुविना क्षेत्रीले ८ बलमा १० रन जोड्दा कप्तान इन्दु बर्माले १० बलमा ६ रन जोडिन । सीता रानामगर १७ बलको सामना गर्दै ७ रन जोडेर आउट हुँदा कविता कुँवरले २ रन जोडे भने पुजा महतो ७ रनमा नटआउट रहिन ।

यूएईले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । यूएईलाई सस्तैमा समेट्न नेपालका कप्तान इन्दु बर्माले तीन विकेट लिए । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले एकएक विकेट हात पारिन ।

यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाएकी थिइन । समूह ‘ए’को नेपालले अब समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्