न्यूरोडको फुटपाथ बढाउने काम रोकिँदैन : काठमाडौँ महानगर



काठमाडौ,साउन ४ । काठमाडौँ महानगरपालिका वडा नं. २२ स्थित न्यूरोडका स्थानीयले काठमाडौँ महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामलाई अवरोध गरेका छन् ।

शुक्रबार काठमाडौँ महानगरपालिकाले वडा नं. २२ स्थित न्यूरोड परिसरमा फुटपाथ बढाउने काम गरेको थियो । केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडि बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम सुरु गरेको थियो ।

स्थानीयले फुटपाथ बढाउने कामको विरोध गर्दै अवरोध गरेका हुन् । उनीहरुले महानगरपालिका विरुद्ध नाराबाजी गर्दै काममा अवरोध गरेका थिए । काठमाडौँ महानगरपालिकाले भने कानुनको परिपालना गर्दै काम गरिएको भन्दै अवरोध गर्नेहरुले अदालतको आदेशको अवहेलना गरेको बताएको छ । अदालतलको आदेशको अवहेलना गर्नेलाई कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।

‘‘पूर्वयोजना कार्यान्वयन गर्न नरोक्नु भनेको भएर आज त्यो कार्यान्वयन गर्न आएका हौँ । यो हतारो होइन । पूर्वयोजना हो । हामीले पहिले कार्यान्वयन गरिरहेका थियौँ । त्यस पछाडी अदालतले रोकिदेउ भन्यो । अहिले अदालतले गर्नुस्, नरोक्नुस् भनेपछि हामीले कानुनको पालना गर्दै सबैकुरा अगाडि बढाइरहेका छौँ । हिजो रोकभन्दा हामीले रोकेको हो । आज गर भन्दा हामीले गरेको हो । यो हाम्रो नियमित प्रक्रिया हो । त्यही अनुसार हामी अगाडि बढेको हो ।,’’ प्रमुखका स्वकीय सचिव साहले भने, ‘‘हामीले आदेशको पालना गर्ने हो । कानुनभन्दा माथि कोही छैन । हामीले कानुनको पालना गर्दैगर्दा जो मान्छेहरु यो हुनुहुँदैन भनेर आइरहेका छन्  । उनीहरुले अदालतको आदेशको अवहेलना गरेका छन् । उनीहरुले भोलि कुनैपनि कानुनभन्दा बाहिर गएर कार्य गरे भने उनीहरुले कानुनअनुसार दण्ड, जरिवाना सहनुपर्ने छ । हामी कानुनमा स्ट्रिक छौँ ।’’

प्रतिक्रिया दिनुहोस्