द्वारिकाज होटलकी अध्यक्ष श्रेष्ठको निधनमा नेपाली पर्यटन क्षेत्रलाई अपूरणीय क्षति



काठमाडौ,साउन ४ ।  महीला उद्यमी, पर्यटन व्यवसायि तथा द्वारिकाज होटलकी अध्यक्ष अम्बिका श्रेष्ठको निधन भएको छ । ९१ वर्षिया श्रेष्ठको बिहीबार ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले बताए  ।

श्रेष्ठको निधनको खबर प्रति दु:ख व्यक्त गर्दै शाहले उनको निधनले नेपालको पर्यटन क्षेत्रमा अपूरणीय क्षति भएको बताए । ‘नेपाली पर्यटन क्षेत्रलाई तथा बुटिक होटल/ हेरिटेज होटललाई विश्वमा चिनाउँन उनले खेल्नु भएको भूमिका र योगदान धेरै छ,’ शाहले भने, ‘उनको निधनले हाम्रो पर्यटन क्षेत्रलाई अपूरणीय क्षति भएको छ ।’

अम्बिका श्रेष्ठ नेपालकी एक सफल महिला उद्यमी हुन्। उनी हाल द्वारिकाज होटलको अध्यक्षको रूपमा कार्यरत थिइन् । सन् १९३३ फेब्रुअरी १२ मा  भारतको सिक्किममा जन्मेकी अम्बिकाले दार्जिलिङको लोरेटो कन्भेन्ट स्कुलमा पढेकी थिइन्।  पटना यूनिभर्सिटीबाट वाणिज्यशास्त्रमा स्नातक सम्मको अध्ययन गरेकी श्रेष्ठ नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विहे भएपछि काठमाडौँ आएकी थिइन् । 

द्वारिकाज होटलको अध्यक्ष समेत रहेका उनका पतिको मृत्यु पछि द्वारिकाज होटलको अध्यक्ष भएकी हुन् । सफल महिला उद्यमीको रूपमा उनले विभिन्न राष्ट्रिय सम्मान प्राप्त गरेकी छिन्। उनी छैठौं ‘न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड–२०१९’ को ‘लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप’अवार्डबाट सम्मानित समेत भएकी थिइन् । 

नेपाली उद्योगको क्षेत्रमा दिएको अतुलनीय योगदानको कदर गर्दै श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको थियो उनी नेपालको पहिलो बुटिक होटल द्वारिकाज होटलको संस्थापक अध्यक्षसमेत हुन् । त्यसदेखि बाहेक दर्जन भन्दा बढी सामाजिक संस्थासँग उनी आबद्ध छन्।

प्रतिक्रिया दिनुहोस्