वीरगञ्ज भन्सारले भेट्टाउन सकेन राजस्व लक्ष्य, उठायो १ खर्ब ५७ अर्ब



वीरगञ्ज,साउन ४ । आयात निर्यात कारोबारका हिसाबले मुख्य नाकामा रहेको वीरगञ्ज भन्सारले गत आर्थिक वर्ष (आव) २०८०/८१ मा राजस्वको लक्ष्य भेट्टाउन सकेन । वैदेशिक व्यापारमा आएको कमीका कारण लक्ष्यअनुसार राजस्व नउठेको भन्सार अधिकारीहरूले बताएका छन् । 

यो भन्सारलाई गत आवका लागि २ खर्ब ४५ अर्ब ८८ करोड रुपैयाँ राजस्व उठाउने जिम्मा दिइएकोमा १ खर्ब ५७ अर्ब ४० करोड रुपैयाँ संकलन भएको वीरगञ्ज भन्सारका सूचना अधिकारी रघुलाल कर्णले बताए ।

यो रकम लक्ष्यको तुलनामा करीब ३६ प्रतिशत कम हो । भन्सार कार्यालयले तोकिएको लक्ष्यमध्ये ६४ दशमलव १६ प्रतिशत राजस्व संकलन गरेको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा भने बढी हो । 

त्यस वर्ष वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यको ६० प्रतिशत राजस्व रकम उठाएको सूचना अधिकारी कर्णले बताए । त्यसबेला १ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ संकलन भएको थियो । 

पछिल्लो समयमा वैदेशिक व्यापारमा तुलनात्मक सुधार आएको प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी बताउँछन् । चालु आवका पछिल्ला महीनाहरूमा व्यापारमा तुलनात्मक सुधार देखिए पनि बजारमा ‘विश्वास’ सृजना हुन नसकेको बुझाइ उनको छ ।

वीरगञ्ज नाकाबाट मुख्यत: सवारी साधन, पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थको आयात हुन्छ । निकासी व्यापारमा जुस, प्रशोधित तेल, कपडा, धागोलगायका उत्पादन पर्दछन् । यी सबै बस्तुको आयात र निर्यात घटेको भन्सारले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्