बिचौलियाका कारण अन्डाको मूल्य अकाशियो
काठमाडौ,साउन ३ । विचौलियाका कारण अन्डाको मुल्य अकाशिएको छ । एउटा अन्डामा पाँच रुपियाँसम्म नाफा लिने गरेपछि किसान र उपभोक्ता मारमा परेका हुन् ।
यसरी जथाभावि रुपमा मुल्य असुलेपनि विचौतियासँग मिलोमतो गरी नियामक निकाय भने मौन बसेको उपभोत्ताको आरोप छ । अन्डाको लागत मूल्य नपाएपछि किसान विस्थापित हुन थालेका छन् । यो बिचमा अन्डाको मूल्यवृद्धि भएको छ तैपनि किसानको लागत उठ्न सकेको छैन ।
केही महिनाअघि अन्डाको लागत मूल्य प्रतिगोटा १६ रुपियाँ ५६ पैसा निकालेको थियो । फार्म मूल्य ठुलो प्रतिगोटा १६ रुपियाँ ३३ पैसा र मध्यम अन्डाको मूल्य १६ कायम गरेको छ । यो मूल्य लागत मूल्यको नजिक हो तर फाइदा नभएको पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले बताए । दिनदिनै व्यवसाय घाटामा गएपछि किसान विस्थापित हुँदै गएको उनले बताए ।
करिब ७५ प्रतिशत किसान यो व्यवसायबाट विस्थापित भएका छन् । कोही ऋण लिएर व्यवसाय चलाइरहेका छन भने कोही लिएको ऋण तिर्न नसक्दा अन्डा उत्पादन गर्ने व्यवसायबाट नै विस्थापित भएको उनले बताए । अन्डा उत्पादन सङ्घका महासचिव प्रवीण केसीले किसानले लागत मूल्य उठाउन पाएको छ, अझै थोरै मूल्य बढ्यो भने फाइदामा जान सकिने बताए । किसानभन्दा पनि उपभोक्ता निकै मारमा परेको उनले बताए । उनले भने, “किसानले एउटा अन्डाको लगभग १७ रुपियाँ पाउँछन् तर त्यही अन्डा उपभोक्ताले २० रुपियाँदेखि २२ रुपियाँसम्म तिर्नुपरेको छ बिचौलियाले बिचमा एउटा अन्डामा तीन रुपियाँदेखि पाँच रुपियाँसम्म खान्छन् ।” उनले अन्डाको मूल्यका कारण उपभोक्ता मारमा परेको बताए ।
नेपालमा पाँच हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकामा हाल यो सङ्ख्या घटरे दुई हजारमा पुगेको उहाँले बताए । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले किसानले उचित मूल्य नपाएका कारण विस्थापित भइरहेको बताए । दानाको कच्चा पदार्थ र औषधीको मूल्यवृद्धि भएको छ, कामदारको ज्याला पनि बढेको छ त्यसले गर्दा लागत खर्च नै धेरै भएको उहाँले बताए। नेपालमा अहिले अन्डा उत्पादक किसानमध्ये एक लाखभन्दा बढी लेयर्स कुखुरा पाल्ने किसान तथा फार्मको सङ्ख्या १५ रहेका छन् । हाल ५० लाख लेयर्स कुखुरा रहेको र २५ लाखभन्दा बढी अन्डा दैनिक उत्पादन हुँदै आएको उनले बताए ।