अर्थतन्त्र चलायमान बनाउन नयाँ आर्थिक वर्ष साँच्चै ‘मंगलमय’ बन्ला ?
काठमाडौँ,साउन २ । अर्थतन्त्रका लागि आर्थिक वर्ष २०८०/८१ धेरै उत्साहप्रद रहेन । कोभिड–१९ र युक्रेन युद्धका कारण विस्वब्यापी रुपमै देखा परेका समस्याको प्रकोप सहनुपर्दा थिलथिलो बनेको अर्थतन्त्रलाई सुरक्षित अवतरण गराउनमा वितेको साल ‘कामयाव’ रह्यो ।
आन्तरिक अर्थतन्त्रका सूचकहरु अपेक्षित रूपमा सुधार हुन नसके पनि बाह्य परिदृष्यमा भने उल्लेख्य सुधार देखिएको छ । रेमिटेन्स आप्रवाह र विदेशी मुद्राको सञ्चिति बढेको छ भने चालु खाता र भुक्तानी सन्तुलन उल्लेख्य बचतमा देखिएको छ ।
न्यून आर्थिक वृद्धिदर, राजस्व संकलनमा चुनौती, पुँजीगत खर्च हुन नसक्नु, व्यापार सन्तुलन हुन नसक्नु जस्ता जोखिमपूर्ण अवस्थाहरुलाई भरथेग गर्दागर्दै यो सालको साउन सुरु भएको छ । अव पनि चालु खर्चका लागि समेत ऋणकै भर पर्नुपर्ने अवस्थालाई सुधार नगरेसम्म आर्थिक लक्ष्य हासिल गर्न नसकिने जानकारहरू बताउँछन् ।
घरजग्गा, सेयर बजार, निर्माण क्षेत्र, थोक तथा खुद्रा व्यापार लगायत क्षेत्रमा कारोबार सुस्त छ । देशभरिका प्रमुख सहरमा सयौं व्यवसाय बन्द हुन पुगेको व्यवसायीले बताउँदै आएका छन् ।
बैंक तथा वित्तीय संस्थामा निक्षेपको थुप्रो लागे पनि लगानीको वातावरण नबन्दा कर्जाको माग बढ्न सकेको छैन । व्यवसायी बन्द गर्नुपर्ने अवस्थामा व्यवसायी पुग्दा बैंकको खराब कर्जा मात्र बढेको छैन । कालोसूचीमा पर्नेको संख्या पनि उत्तिकै बढिरहेको छ ।
यी र यस्तै समस्याबीच गत आर्थिक वर्ष व्यतित भए पनि अब सुरु भएको नयाँ आर्थिक वर्ष राम्रो बन्ने अपेक्षामा आम नागरिक छन् ।
धेरै अपेक्षा गर्न सकिँदैन : अर्थविद्
अर्थविद् डा. चन्द्रमणि अधिकारी आगामी आर्थिक वर्षलाई लिएर त्यति धेरै अपेक्षा गर्न नसकिने बताउँछन् ।
सरकारले आवश्यक तयारीका साथ बजेट नल्याउनु, सिद्धान्त तथा प्राथमिकता र नीतिमा छलफल नहुनु, बजेट आउने बित्तिकै सरकार नै परिवर्तन हुनु लगायत कारण पनि आर्थिक वर्ष सुधार उन्मुख हुन्छ भन्नेमा विश्वस्त हुन नसक्ने उनले बताए ।
‘हुन त बजेट पारित गर्ने दलकै नेतृत्वमा सरकार बनेको छ । अब सरकारले बजेटलाई कसरी लिन्छ ? यसलाई जस्ताको त्यस्तै अगाडि बढाउँछ कि पुरक बजेट ल्याएर संशोधन गर्छ कि ? अथवा केही आमुल परिवर्तन गर्ला वा नगर्ला ? यी तमाम प्रश्नको उत्तर मिलेको छैन’ उनले भने ।
नवगठित सरकारले कस्तो कदम चाल्छ त्यसैले नै आगामी अर्थतन्त्रको बाटो तय हुने अधिकारीको भनाइ छ ।
अर्थतन्त्र सुधार गर्नको लागि सबैभन्दा पहिले मितव्ययिता र सुशासन कायम हुनुपर्ने उनी बताउँछन् । उनी थप्छन्, ‘अनावश्यक खर्चको कटौती गर्नुपर्यो । चालु खर्च रोक्नुपर्ने ठाउँहरू पनि धेरै छन् । वित्तीय अनुशासन कायम हुनुपर्यो । भ्रष्टाचार निर्मुल हुनुपर्यो । पुँजीगत खर्च र निजि क्षत्रको लगानी बढाउने खालको वातावरण बनाउनुपर्यो’ । बैंक तथा वित्तीय संस्था र व्यवसायी बीच विश्वासको खडेरीलाई पनि सुधार्न आवश्यक रहेको उनको तर्क छ ।
अर्का अर्थशास्त्री डा. डिल्लीराज खनालले आर्थिक सुशासनमा ध्यान पु¥याउन नसकेको भन्दै त्यसैलाई बढी जोड दिन सुझाएका छन् । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार र मूल्यमा केही हदसम्म नियन्त्रणका बाबजुद आन्तरिक अर्थतन्त्र अहिले पनि ‘गम्भीर समस्यामा’ रहेको उनको भनाइ छ ।
विगतका वर्षहरुमा बजेट खर्च गर्ने प्रणाली एवम् कार्यदक्षतामा सुधार आउन नसकेको उनले बताए । उनले भने, ‘अन्तिम समयमा रकमान्तर गरेर खर्च गर्ने पुरानै समस्या दोहोरिएको छ ।’
डा. खनालले लामो समयदेखि अर्थतन्त्रलाई पुनरुत्थान गर्न संरचनागत सुधारहरू आवश्यक रहेको बताउँदै आएका छन् । ‘अर्थतन्त्रलाई पुनरुत्थान गर्ने र त्यो दृष्टिमा अगाडि बढ्न धेरै क्षेत्रमा कामहरू गर्नुपर्ने छ । नीतिगत, बजेटलाई व्यवस्थित र प्रभावकारी बनाउन, निजि क्षेत्रलाई विश्वासमा लिन, अधिक तरलतालाई परिचालन गर्न, रोजगारी वृद्धि गराउन, वित्त नीति एवम् मौद्रिक नीति र निजि क्षेत्रको लगानी प्रवर्द्धन गर्ने गरि नीति निर्णय गर्नुपर्छ’ उनले भने ।
तत्काल अर्थतन्त्रलाई पुनरुत्थानका लागि दीर्घकालीन र मध्यकालीन कदमहरू चाल्नुपर्ने उनले बताए । यसो गरेमा मात्र समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुने उनको भनाइ छ ।
के भन्छन् सेयर लगानीकर्ता ?
आर्थिक वर्ष २०८०/८१ सेयर लगानीकर्ताका लागि पनि सुखद रहेन । विगत केही वर्षदेखि सुस्ताएको सेयर बजार यो आर्थिक वर्षमा बढ्ने लगानीकर्ताको अपेक्षा थियो । तर त्यो अपेक्षा पुरा भएन ।
सरकारले सेयर बजारलाई हेर्ने दृष्टिकोण नबदलिएसम्म सेयर बजारले गति नलिने लगानीकर्ताहरू बताउँछन् । सेयर धितो कर्जामा लगाइएको क्याप पूर्ण रूपमा हटाउनु पर्ने माग लगानीकर्ताहरूको छ । अहिले सेयर धितो कर्जामा १५ करोड रुपैयाँ व्यक्तिगत सीमा र २० करोड संस्थागत सीमा रहेको छ ।
सेयर धितो कर्जाको जोखिम भार पनि १२५ प्रतिशतबाट घटाएर १०० मा झार्नुपर्ने माग लगानीकर्ताको छ । यसको मतलव बैंकहरुले १०० रुपैयाँ कर्जा दिँदा १२५ रुपैयाँ पूँजी त्यसबापत छुट्याउनु पर्ने व्यवस्थाको संशोधन हो । राष्ट्र बैंक यसका निम्ति तयार हुनुपर्ने उनीहरुको माग छ । जसले गर्दा बैंकहरु सेयर किन्ने ऋण प्रवाह गर्न उद्धत हुनसक्ने उनीहरुको बुझाई छ ।
विगत ३ वर्षदेखि भोगेको दुःख नयाँ आर्थिक वर्षको उदयसँगै अन्त्य हुनेमा विश्वस्त रहेको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् ।
नयाँ सरकार गठन भएसँगै अर्थ मन्त्रालय र सेयर बजारको तालमेल मिल्ने उनको भनाइ छ । ‘सेयर बजारको ‘कालो बादल’ हटेर जाने उनले बताए । नयाँ सरकार गठनसँगै लगानीकर्ताले रुचाएका अर्थमन्त्री विष्णु पौडेल आएका छन् ।
‘राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि एमाले निकट हुनुहुन्छ । त्यसैले पनि अर्थतन्त्र बलियो हुने नीतिहरू आउनेमा ढुक्क छौँ’, उनले भने, ‘आगामी मौद्रिक नीति पनि राम्रो आउला ।’
अर्का लगानीकर्ता ताराप्रसाद फुल्लेल पनि आगामी दिनमा सेयर बजारले गति लिनेमा विश्वस्त छन् । नीतिगत सुधारका काम हुन सकेमा अर्थतन्त्रमा सुधार हुने र त्यस सँगसँगै सेयर बजारले पनि गति लिने उनको भनाइ छ ।
यस हिसाबले मंगलबार परेको यो कर्कट संक्रान्तिले अर्थतन्त्र र खासगरी सेयर बजारमा ‘मंगलै मंगल’ आउने अपेक्षा धेरैले गरेका छन् ।