सहरी योजना आयोगबाट १ अर्व ७५ करोडका १२५ वटा आयोजनाको डीपीआर तयार



काठमाडौँ,साउन १ । काठमाडौँ महानगरपालिकाको १२५ वटा आयोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तार गरेको छ ।

महानगरको सहरी योजना आयोगले आर्थिक वर्ष २०८०/८१ मा १ अर्व ७५ करोड २१ लाख २५ हजार ११९ रुपैयाँ लागतका १२५ वटा योजनाको डिपिआर तयार गरेको हो ।

महानगरले ड्रइङ्, डिजाइनिङ्, लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ ।

यसमध्ये ५८ वटा योजना वडाहरुबाट माग भएर आएका हुन् । सम्पदा तथा पर्यटन विभागका २८ वटा, हरियाली आयोजनाका १३ वटा, आयोगका (सार्वजनिक निर्माण विभागका ६ वटा, स्वास्थ्य र सार्वजनिक निजी साझेदारीका ३/३ वटा छन् । यस्तै सामाजिक विकास, वातावरण, प्रशासन, कृषि तथा पशुपन्छी विभागका १/१ वटा आयोजना छन् ।

‘माग भएका योजनाको डीपीआर नहुँदा विगतमा पुँजीगत खर्च बढ्न सकेको थिएन । अव महानगरपालिकाको पूँजीगत खर्च बढ्नेछ । त्यो समस्या अब सकियो ।’ सम्पन्न डीपीआरका विषयमा प्रतिक्रिया दिँदै आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी भने,‘गएको आर्थिक वर्षमा माग भएका सबै योजनाको डीपीआर सकिएको छ । यसपछि माग भएर आउने योजनाको डीपीआरमा तत्काल काम गर्न सकिन्छ ।’

उनले सम्पन्न डीपीआरको कार्यान्वयनबाट मात्र नतिजा मापन गर्न सकिने भएकोले ट्र्याकिङ् प्रणाली बनाउँदै गरेको जानकारी गराए । उनले भने,‘यो प्रणालीले नतिजा कति प्राप्त भयो, तत्काल हेर्न र भन्न सकिने हुन्छ । योजना कार्यान्वयनमा कुनै समस्या आयो भने तत्काल सम्बोधन गर्न सकिन्छ ।’

योजनालाई डीपीआर बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल र अन्तरक्रिया भएको छ । संरचनालाई मौलिक शैली झल्किने बनाउन भौगोलिक अवस्थासँगै सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्था पनि विश्लेषण गरिएको आयोगका सदस्य आर्किटेक्ट बाबुराम भट्टराई बताए ।

आयोगले तयार पारेका प्रतिवेदनहरु सम्बन्धित वडा र विभागमा पठाइएका छन् । यसलाई सम्बन्धित विभाग र वडाले कार्यान्वयनमा ल्याउनेछन् । आर्थिक बर्ष २०८१/८२ को बजेटमा समाबेश गरिएका कार्यक्रमलाई भाद्र महिना भित्र डीपीआर सम्पन्न गर्ने तयारी गरेका आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्