संखुवासभा पहिरो: घाइतेको हेलिकप्टरबाट उद्धार
संखुवासभा,साउन १ । सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा घरसँगै ढुङ्गाले किचेर मृत्यु भएका दुई जनाको गाउँमै पोष्टमार्टम हुने भएको छ। जिल्ला सदरमुकाम खाँदबारीबाट सुरक्षाकर्मी र चिकित्सक गाउँमै पुगेर पोष्टमार्टम गर्न लागिएको वडा नम्बर १ का अध्यक्ष अनिश कुलुङले जानकारी दिए ।
मृत्तकको पोष्टमार्टम सिसुवाखोला स्वास्थ्य चौकीमा गर्न लागिएको हो। घटनास्थलबाट जिल्ला सदरमुकाममा रहेको अस्पताल आइपुग्न करिब एक दिन लाग्छ। बाढी पहिरोले सडक अवरुद्ध हुँदा शव सदरमुकाम पुर्याउन समस्या भएको हो।
मङ्गलबार बिहान करिब आठ सय मिटर माथिबाट खसेको ढुङ्गाले किचेर ४९ वर्षीया सासू मोतिमाया राई र २५ वर्षीया बुहारी समीक्षा राईको मृत्यु भएको हो। ढुङ्गाले लागेर ३२ वर्षीया छोरी रबिना राई गम्भीर घाइते छिन ।
घाइते रबिनालाई उपचारका लागि काठमाडौँ लगिएको छ। उनलाई उपचारका लागि काठमाडौँस्थित सशस्त्र प्रहरी अस्पताल, बलम्बु लगिएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले जानकारी दिए ।
मङ्गलबार बिहान साउने सङ्क्रान्ति मनाउन तयारी गरिरहेको बेला ६ जनामध्ये ३ जनालाई ढुङ्गाले किचेको वडा अध्यक्ष अनिश कुलुङले जानकारी दिए । ढुङ्गाले किचेको घर पूर्णरुपमा क्षतिग्रस्त भएको वडाध्यक्ष कुलुङले जानकारी दिए ।