छहरे-टोखा सडक खुल्न अझै ३ घण्टा लाग्ने
नुवाकोट,असार ३० । छहरे-टोखा सडकखण्ड सुचारु हुन अझै ३ घण्टा समय लाग्ने भएको छ ।
गएराति परेको अविरल वर्षाका कारण सडकखण्डको विभिन्न स्थानमा गएको पहिरो पन्छाउन झण्डै ३ घण्टा समय लाग्ने छहरे अस्थायी पोस्टका असई पुष्प बरालले बताए । उनका अनुसार छहरे मोडदेखि काफलडाडासम्म पहिरो पन्छाई एकतर्फी बाटो संचालनमा ल्याइएको छ ।
उता अविरल वर्षाका कारण चापबोट-थानाभन्ज्याङ खण्डमा समेत पहिरो खसेकोले पहिरो पन्छाउन पहल भैरहेको गुर्जेस्थित अस्थायी प्रहरी पोस्टका असई हर्कबहादुर श्रेष्ठले बताए । उनका अनुसार हाललाई एकतर्फी बाटो सञ्चालनमा ल्याई सडकको डोजर त्यसतर्फ लैजान आफुले अनुरोध गरेको बताए ।
बाटो अवरुद्ध हुँदा बिहानको समयमा नुवाकोट काठमाडौ आवतजावत गर्ने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।