नलिञ्चोक हेलिप्याडबाट उडानमा विवाद पाइलटको अडानपछि समिति गठन
काठमाडौं,असार ३० । हेलिकोप्टर उडान शुरू भएको ३ सातामै नलिञ्चोक हेलिप्याडबाट उडान हुने/नहुने अनिश्चित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेकै सुरक्षा मापदण्डलाई पालना गरेर हेलिकोप्टर उडान गर्न भनेको छ भने हेलिकोप्टर कम्पनीहरूले सुरक्षाको कारण देखाउँदै हेलिकोप्टर नउडाउने निवेदन प्राधिकरणमा दर्ता गराएका छन् ।
असार ७ गतेदेखि सञ्चालनमा आएको नलिञ्चोक हेलिप्याडबाट हेलिकोप्टर उडान सुरक्षित नभएको भन्दै पाइलटहरूले बिहीवारदेखि उडान बन्द गरेका छन् । नलिञ्चोक हेलिप्याडबाट उडान सुरक्षाको विषयलाई लिएर हेलिकोप्टर पाइलटहरूले प्राधिकरणमा निवेदन दिएका हुन् । त्यसपछि नलिञ्चोक हेलिप्याडमा उडान सम्बन्धमा देखिएका सुरक्षाका विषयलाई सम्बोधन गर्न प्राधिकरणले १६ सदस्यीय समिति गठन गरेको छ । एक साताभित्र सुझावसहित प्रतिवेदन बुझाउन भन्दै प्राधिकरणका उपनिर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा एक समिति गठन गरेको हो । प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले हेलिप्याड बनाउनुअघि नै त्यहाँ सुरक्षा जोखिमहरूको सूची नै बनाइने गरेको बताए ।
‘सुरक्षा जोखिमको आकलन (सेफ्टी रिस्क एसिस्मेन्ट) गरिएको हुन्छ । यो सैद्धान्तिक कुरा हो र यही आधारमा असार ७ गतेदेखि हेलिप्याड सञ्चालनमा आएको हो,’ पाण्डेले भने, ‘सुरक्षा जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्दागर्दै पनि अहिले पाइलटहरूले उडानका क्रममा जोखिम रहेको व्यावहारिक अनुभव देखियो भनेर निवेदन दिएका छन् । त्यसमा गम्भीर भएर छलफल गरिएको छ ।’
उनका अनुसार पहिला प्राधिकरणले निर्क्यौल गरेको सैद्धान्तिक र अहिले पाइलटले उडानका क्रममा देखाएका व्यावहारिक सुरक्षा जोखिमको उक्त समितिले विश्लेषण गर्नेछ । उनका अनुसार अबको ७ दिनभित्र समितिले प्रतिवेदन दिनेछ । समितिले सुरक्षा जोखिमको आकलन गरेर उक्त हेलिप्याड सञ्चालन योग्य हो कि होइन ? सुरक्षा जोखिम हो कि होइन ? जोखिम छ, भने त्यसलाई कसरी न्यूनीकरण गर्ने भनेर उपायसमेत सुझाउने पाण्डेले बताए ।
प्राधिकरणले शुरू चरणमा सैद्धान्तिक रूपमा भू–बनोट, भौगोलिक अवस्था, मानवनिर्मित संरचना (भवन/टावर/घर/बिजुलीका तार, पोल)ले पार्ने जोखिम न्यूनीकरण गरेर नै हेलिप्याड सञ्चालन गर्ने भनेअनुसार नै हेलिप्याड सञ्चालनमा आएको हो । उनले भने, ‘अहिले पाइलटहरूले व्यावहारिक कारणले हेलिकोप्टर सञ्चालन गर्न नसकिने प्रतिक्रियासहित निवेदन दिएका छन् । सैद्धान्तिक विषय प्राधिकरणसँग छ । व्यावहारिक पक्ष पाइलटबाट आयो । यी दुवै विषयलाई राखेर सुझाव दिन समिति गठन गरिएको हो ।’
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पाइलटहरूले राखेका धेरै कुरा सुविधामा केन्द्रित भएको टिप्पणी गरे । ‘यस्ता सुविधाका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र सम्बद्ध आयोजनाले व्यवस्थापन गर्ने कुरा भयो,’ भुलले भने, ‘बाँकी सञ्चालन र प्राविधिक मुद्दाहरूमा पाइलटहरूले राखेका कुराहरू जायज हो कि होइन अथवा कति हदसम्म सही हो र त्यसलाई कसरी समाधान गर्ने भन्ने विषय प्राधिकरणको हो ।’
उनले भने, ‘सुरक्षाका विषयमा प्राधिकरणले कुनै सम्झौता गर्दैन ।’ नलिञ्चोक हेलिप्याडमा २०८० मङ्सिर २६ गते परीक्षण उडान प्रक्रियाबमोजिम नै भएको थियो । असार ५ गते हेलिकोप्टर कम्पनीका सञ्चालकसहित बसेको बैठकको निर्णयबमोजिम असार ७ गतेदेखि उडान शुरू भएको हो । सुरक्षाको विषय सम्बोधन गर्न प्राधिकरण गम्भीर रहेको भन्दै उनले समितिको प्रतिवेदन आएपछि थप काम हुने बताए । ‘अहिले लोड नभएर नलिञ्चोकबाट उडान भएको छैन,’ उनले भने, ‘अहिले फ्लाइट नभएको समयमा फ्लाइट गर्दिन भन्नुको कुनै अर्थ छैन ।’