एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै, सोमवार सपथ लिने तयारी



काठमाडौं,असार ३० । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको हो । नेपाली कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन । 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् । राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भएलगत्तै दुई दलले ओलीलाई उक्त पदमा नियुक्त गर्न दाबी पेस गरिसकेका छन् । 

चौथो पटक प्रधानमन्त्री हुन लागेका अध्यक्ष ओलीलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गर्नुहुने प्रबल सम्भावना रहेको दुवै दलका दोस्रो तहका केही नेताहरूले बताएका छन् । एमालेका प्रमुख सचेतक महेश वर्तौलाले राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्तिपछि सोमबारभित्रै पद तथा गोपनीयताको शपथ लिने तयारी भएको जानकारी दिए । 

पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन् । यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्