दोस्रो पटक दुई तिहाईको बहुमतप्राप्त सरकारको नेतृत्व गर्दै ओली, आइतबार नै नियुक्ति र शपथ !



काठमाडौं,असार २९ । नयाँ बन्ने सरकारको नेतृत्व अर्थात् प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाबी पेश गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका थिए । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै उनले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका हुन् ।

अध्यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर उनले प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

योसँगै अब राष्ट्रपति पौडेलले आइतबार नै ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने भएका हुन् । संविधानको धारा ७६ को उपधार (२) बमोजिम ओली प्रधानमन्त्रीमा नियुक्ति गर्न नेकपा एमाले र नेपाली कांग्रेसले राष्ट्रपति पौडेललाई सांसदहरुको हस्ताक्षरसहित बुझाएका छन् ।

आइतबार नै ओलीको नियुक्ति र शपथ ग्रहण हुने स्रोतले बतायो । ओली दोस्रोपटक दुई तिहाईको बहुमतप्राप्त सरकारको नेतृत्व गर्ने छन् । ओलीलाई कांग्रेससहित अन्य सात दलले पनि समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्