नुवाकोटको नयाँ पर्यटन गन्तव्य ‘सुइरेचौर’
• शरणउत्सुक सापकोटा
नुवाकोट,असार २७ । नुवाकोट जिल्लाको सूइरेचौर पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ । शिवपुरी-७ स्थित ‘सुइरेचौर’ काठमाडौंलगायत बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
समुद्र सतहदेखि दुई हजार मिटर उचाइमा रहेको सुइरेचौरबाट काठमाडौं र नुवाकोटका विभिन्न रमणीय फाँट तथा गणेश, मनास्लु र अन्नपूर्ण हिमाल देख्न सकिन्छ । काठमाडौंको सामाखुसी चोकदेखि १३ किलोमिटर र बालाजु बाइपासदेखि १४ किलोमिटर तथा नुवाकोटको बट्टारदेखि ३४ किलोमिटरको सडक यात्रा एवम् पर्यटकीय गन्तव्य ककनीबाट चार घण्टाको पैदल यात्रामा यहाँ पुग्न सकिन्छ । पछिल्लो केही वर्षदेखि यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्न थालेपछि पर्यटन व्यवसायीले लगानीसमेत बढाउन थालेका छन् । यसअघि युवकयुवती, साथीभाइदेखि परिवारसम्मका लागि वनभोज र आरामका लागि त्यहाँको खाली चौरको उपयोग हुने गरेको थियो । पछिल्लो समय भने यहाँ नयाँ होटेल तथा रेस्टुराँ सञ्चालनमा आएका छन् । पाँच–छ पर्यटन व्यवसायी अहिले जग्गा खरिद गरी होटेल तथा खाजाघर निर्माणमा जुटिरहेका छन् ।
पर्यटकीय केन्द्रका रूपमा बन्दै गरेको ‘सुइरेचौर’ पुग्ने सडक गुर्जेभञ्ज्याङबाट एक लेनको जीर्णावस्थामा छ । काठमाडौं र नुवाकोटबाट गुर्जेभञ्ज्याङसम्म दुई लेनको छहरे–टोखा सडकमार्ग रहेकाले आवतजावतमा सहज छ । गुर्जेदेखि सुइरेचौरसम्मको डेढ किलोमिटर सडक वर्षात्मा पैदल र सवारी आवतजावत गर्न कठिन हुने गरेको स्थानीयवासी बताउँछन् । गुर्जेदेखि सुइरेचौर जाने सडक शिवपुरी निकुञ्जभित्र पर्ने भएकाले निकुञ्ज कार्यालयको स्वीकृतिबेगर केही गर्न नपाइने कानुनी उल्झनका कारण सडकमा नाली बनाउन, ठाउँठाउँमा टेवा पर्खाल लगाउन र केही ठाउँमा मोड सुधार गर्न पालिकाले बजेट छुट्याए पनि काम गर्न नसकेको स्थानीय बासिन्दा बताउँछन् । निकुञ्जले बाटो स्तरोन्नतिका लागि स्वीकृति दिएर उदारता देखाएमा सुइरेचौर केही वर्षमै पर्यटकीय केन्द्र बन्ने विश्वास गर्न सकिन्छ ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा, पर्यटन व्यवसायी राजन सिंखडा, जेबी सिंह, हेमराज बराल र कृष्ण घिमिरेलगायतको समूहले रु. सात करोडभन्दा बढी लगानीमा ‘सुइरेचौर नेचर रिट्रिट’ सञ्चालनमा ल्याएका छन् । २७ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको रिसोर्टमा हाल १० डिलक्स कोठा, चार डिलक्स ‘ग्ल्याम्पिङ टेन्ट’ र पिङ निर्माण गरिएको छ । कुल रु. ३० करोड लगानीमा बन्न लागेको उक्त रिसोर्टभित्र पौडीपोखरी र सभाकक्षसहित थप डिलक्स तथा भिला निर्माण हुने सञ्चालक सिंखडा बताउँछन् । जिपलाइन, हाइकिङ र बाइकिङको उत्कृष्ट गन्तव्यका रूपमा पनि यहाँको विकास हुँदै गएको छ । यहाँ प्याराग्लाइडिङ सञ्चालनका लागि अध्ययन सम्पन्न गरी संचालन समेत गरिएको थियोे यद्यपि विविध कारण भन्दै प्याराग्लाईडिङ बन्द भएको छ । त्यस्तै यस ठाउँमा जिपलाइन दर्ताको कामसमेत सम्पन्न भइसकेको छ ।
पत्रकार–सञ्चारकर्मीको संस्था सम्पादक समाज नेपालले गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रसमेत खोलेर यस क्षेत्रको प्रचार–प्रसारमा सहयोग पुर्याइरहेको छ । समाजले पत्रकारका लागि आवासीय तालिम दिलाउन आवश्यक भौतिक संरचना बनाएको छ । गुर्जेभञ्ज्याङबाट सुइरेचौर जाने छोटो दूरीको सडक स्तरोन्नति नहुँदा वर्षातमा सवारीसाधन आवतजावत गर्न कठिनाइ भइरहेको गुनासो स्थानीयवासीले गरेका छन् ।
सो स्थानलाई देवाधिदेव शिवको क्रीडास्थलका रूपमा लिने गरिएको तथा ऋषिमहर्षि र तपस्वीले तपस्या गर्ने गरेको किंवदन्ती छ । त्यसैकारण यस क्षेत्रलाई शिवपुरी भन्ने गरिएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको यहाँको एक गाउँपालिकाको नामसमेत शिवपुरी राखिएको छ । गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया सो क्षेत्रको विकासका लागि कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको बताउँछन् । ‘शिवपुरीभित्र रहेका प्राकृतिक सम्पदाका साथै यहाँभित्रका झरना, मठमन्दिर संरक्षणका लागि गाउँपालिका जुटेको छ,’ उनले भने, ‘लौके झरना संरक्षण र झरनाको फेदमा पोखरी निर्माणका लागि रु. एक करोड विनियोजन गरिसकेका छौँ ।’ यसैगरी शिवपुरीभित्रका पर्यटकीयस्थल संरक्षणका लागि पदमार्ग, विश्रामस्थल, प्रचारप्रसारलगायत कामलाई गाउँपालिकाले प्राथमिकतामा राखेको अध्यक्ष थपलियाले बताए ।
उनका अनुसार पर्यटन प्रवद्र्धनका लागि शिवपुरीभित्रका विभिन्न गाउँमा घरवास पर्यटन कार्यक्रम सञ्चालन गर्न तालिमसमेत सञ्चालन गरिएको छ । यहाँभित्र रहेको थान्से भूमे मन्दिर प्रचारप्रसार तथा पर्यटन उद्यानसमेत निर्माण भइरहेको छ । ‘शिवपुरीको पर्यटन विकासका लागि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग पनि समन्वय गरिरहेको छ,’ अध्यक्ष थपलियाले भने । बागमती प्रदेश सरकारले दुप्चेश्वर–२ र ४, शिवपुरी–७ तथा ककनी–२ र ५ वडालाई समावेश गरी ककनी–सुइरेचौर–चिसापानी–कुटुङ्साङ जोडेर पदमार्ग निर्माण गर्ने योजना बनाइरहेको जनाइएको छ । त्रिशुली प्रवाहबाट