ललितपुरका मूर्तिकार शाक्यद्वारा नुवाकोटलाई लाखेको मुकुन्डो हस्तान्तरण
•रिना खनाल
नुवाकोट,असार २७ । नुवाकोट दरबारमा रहेको लाखेको ऐतिहासिक मुकुन्डो पुरानो र रङ उडेर फुङ्ग भएको सुनेर ललितपुरनिवासी सम्पदा संरक्षक रवि शाक्यले तस्बिर मगाएर त्यस्तै प्रतिरूप बनाएर हस्तान्तरण गरेका छन् । ऐतिहासिक साक्षीका रूपमा रहेको दुई कलात्मक सांस्कृतिक सम्पदा प्राप्त भएको हो । विगतमा पनि नुवाकोट दरबारपरिसरमा रहेका मूर्ति तथा गहनाहरू ललितपुरकै कालिगढहरूबाट पुनर्निर्माण, जीर्णोद्वार र मर्मत हुँदै आएको थियो ।
ललितपुर, ओकुबहालस्थित महाबौद्ध मन्दिरपरिसरमा आयोजित हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सभा, अर्थ तथा विकास समितिका सभापति नुरज बज्राचार्यले हाम्रा कला र सम्पदाको संरक्षण गर्न सके धेरै शिक्षा लिन सकिने बताए । त्यस्तै, मूर्तिकार शाक्यले आफूलाई जीर्णावस्थामा रहेको सो मुकुन्डो बनाउन नुवाकोटले अवसर प्रदान गरेकामा धन्यवाद दिँदै यसबाट आफू गौरवान्वित भएको बताए । हाम्रो आफ्नै धार्मिक संस्कार र परम्परा छन्, जो निकै समृद्ध छ । हाम्रो संस्कृति बचाइराख्नु हामी सबैको कर्तव्य रहेकामा समेत उनले जोड दिए ।
साततले दरबारका सरकारी प्रतिनिधि द्वारे महेन्द्रकुमार शाहीले नुवाकोटका दुई लाखेको इतिहासबारे प्रस्ट्याएका थिए । नुवाकोटको निर्माणाधीन स्वयम्भूका संरक्षक गौतममान डङ्गोलले नुवाकोटको संस्कृति तथा कलाको पहिचान बढाउन मद्दत गरेकामा मूर्तिकार शाक्यलाई धन्यवाद दिँदै काठमाडौं उपत्यका र नुवाकोटका चाडपर्व, रीतिरिवाज, धर्मसंस्कृतिमा समानता रहेकाले यस्ता कार्यक्रमले आफूहरूबीच भ्रातृत्व र सद्भाव बढ्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमपश्चात् नुवाकोटको लाखेनाच प्रदर्शन गरी नगर परिक्रमासमेत गरिएको थियो ।
स्मरणीय छ, इतिहासमा दुईपटक नेपालकै राजधानी बन्ने सौभाग्य पाएको नुवाकोटस्थित साततले दरबार पनि नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहले ललितपुरका कालिगढ भित्र्याएर वि.सं.१८१९ मा निर्माण गराएका थिए ।नुवाकोटको लाखेनाच नेपालभर प्रख्यात छ जसले मुलुकव्यापी लाखेनाच प्रतियोगिताहरूमा पुरस्कार पनि पाएको छ ।