मेलम्चीको पानी बाह्रै महिना ल्याउने उपाय सुझाउन निर्देशन



काठमाडौ,असार २७ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका मूलभूत समस्याको समाधानका लागि ठोस सुझावसहितको प्रस्ताव समितिसमक्ष पेस गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकले सो निर्देशन दिने निर्णय गरेको हो । बैठकमा खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिव र सम्बन्धित निकायका पदाधिकारीहरूसँग काठमाडौँमा खानेपानीको उत्पादन, वितरण एवं सहज आपूर्ति गर्न देखिएका समस्या र चुनौतीलगायतका विषयमा छलफल भएको थियो ।

समितिका उपसचिव लक्ष्मण अर्यालले बैठकका निर्णयबारे जानकारी दिँदै सो कुरा बताएका हुन्  । समितिले उपयुक्त समयमा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्ने निर्णयसमेत गरेको अर्यालले जानकारी दिए । त्यसै गरी बैठकले काठमाडौँ उपत्यकामा स्वच्छ खानेपानी व्यवस्थापन गर्न स्थानीय सहायक स्रोतका रूपमा रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको पानी नियमित आपूर्तिका लागि निकुञ्जसम्बन्धी नियमावलीको अनुसूचीमा उल्लेखित ‘रोयल्टी’ लगायतका आवश्यक विषयमा तत्काल संशोधन गरी वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रक्रिया टुङ्ग्याई सहजीकरण गरिदिन वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्