शनिबारसम्म मनसुन सक्रिय हुने, सतर्क रहन आग्रह



काठमाडौं,असार २७ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ [नेपालको दक्षिण भूभाग-सिमाना आसपास रहेको छ ।  आजबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ । नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले आज रातिदेखि २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ । महाशाखाले  मनसुन विशेष मौसम बुलेटिन प्रकाशितगरी सतर्कताका लागि अनुरोध गरेको हो ।  

आजदेखि असार २९ गतेको बिहानसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानमा  र  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ ।

त्यस अवधिमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कताका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्