काठमाडौंका दुई फर्मलाई ३–३ लाख जरिवाना
काठमाडौं,असार २७ । म्याद सकिएको सामान बेच्ने र सामानको तोकिएको भन्दा बढी मूल्य लिने काठमाडौंका दुई फर्मलाई ३–३ लाख रुपैयाँ जरिवाना गराइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–१३, सोल्टीमोडस्थित म्याक्रो मिनि मार्ट र ताहचलस्थित मेगा मार्ट प्रालिलाई उक्त जरिवाना गराएको हो ।
अनुगमनका क्रममा म्याक्रो मिनि मार्टले तोकिएभन्दा बढी मूल्य लिइ सामान बेचेको पाइएको र मेगा मार्टले उपभोग्य मिति सकिएको वस्तु बेचेको पाइएको भन्दै जरिवाना तिराइएको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
म्याक्रो मिनि मार्टले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क) बमोजिम र मेगा मार्टले सोही ऐनको दफा १६ (२) (ठ) बमोजिम कसूर गरेको भन्दै ती फर्महरूलाई सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम जरिवाना तिराइएको विभागले जनाएको छ । ऐनको दफा ३९ (१) (ख) मा दफा १६ (२) (क) र दफा १६ (२) (ठ) बमोजिम कसूर गर्नेलाई दुईदेखि तीन लाखसम्म जरिवाना गराउन सक्ने प्रावधान छ ।