चितवनमा ६४ प्रतिशत रोपाइँ सम्पन्न



चितवन,असार २७ । जिल्लामा ६४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि विकास कार्यालय, चितवनका अनुसार जिल्लामा सोमवारसम्म करीब ६४ प्रतिशत जमिनमा रोपाइँ सकिएको हो । पछिल्ला दिनमा नियमित वर्षा भएसँगै गत वर्षको तुलनामा यो वर्ष छिटो रोपाइँ भएको हो । 

गएको शुक्रवारसम्म ४९ प्रतिशत रोपाइँ भएको थियो । पछिल्लो तीन दिनमा मात्रै करीब १५ प्रतिशत रोपाइँ भएको कार्यालयले जनाएको छ  । नियमित वर्षा भए आउँदो शुक्रवारसम्म ७० देखि ८० प्रतिशत रोपाइँ सकिने कार्यालयको प्रक्षेपण छ ।

कृषि विकास कार्यालयकी सूचना अधिकारी सुरूची त्रिपाठीका अनुसार कार्यालयले हरेक शुक्रबार धान रोपाइँको तथ्याङ्क अद्यावधिक गर्ने गर्छ । 

धानको पकेट क्षेत्र मानिएको पूर्वी चितवनमा ९० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको उनले बताइन् । पूर्वी चितवनमा भन्दा पश्चिम चितवनमा करीब एक महिना ढिलासम्म रोपाइँ हुने गर्छ । माडी, भरतपुर महानगरपालिका र इच्छाकामना गाउंँपालिकामा ढिलो रोपाइँ हुने उनले बताइन् । 

जिल्लामा २२ हजार ८०० हेक्टरमा बर्खे धान र ५५ सय हेक्टरमा चैते धान रोपाइँ हुने कार्यालयको तथ्याङ्क छ । बर्खे धानको उत्पादकत्व प्रतिहेक्टर ४.८ मेट्रिक टन र चैते धानको उत्पादकत्व प्रतिहेक्टर ६.४ मेट्रिक टन रहेको छ । 

प्रतिक्रिया दिनुहोस्