नुवाकोटका दुई युवा एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ
काठमाडौं,असार २६ । माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका-३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका-१ घर भई हाल बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई आज बिहान पक्राउ गरिएको जानकारी दिए ।