हरियो तरकारीको मूल्य तीन गुणासम्म महँगो
काठमाडौं,असार १६ । हरियो तरकारीको मूल्य आकासिएको छ । पछिल्लो एक साताको अवधिमा नै तरकारीको भाउ तीन गुणासम्म वृद्धि भएको हो ।
अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा तरकारीको भाउ २१० प्रतिशतसम्म वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीले यस्तो देखाएको हो ।
गत सोमबार (असार १७ गते) प्रतिकेजी औसत १४ रुपैयाँ २० पैसा रुपैयाँ कायम भएको सानो लोकल गोलभेडा असार २६ गते बुधवार (असार २६ गते) सम्म आइपुग्दा भने २०९.८६ प्रतिशत वृद्धि भएको छ ।
बुधार यस्तो गोलभेडाको भाउ प्रतिकेजी औसत मूल्य ४४ रुपैयाँ पुगेको छ। यता, सानो गोलभेडा (टनेल) पनि १४१.२३ प्रतिशत वृद्धि भई प्रतिकेजी ५५ रुपैयाँ पुगेको छ। जबकि गत असार १७ गते यस्तो गोलभेडको भाउ औसत २२ रुपैयाँ ८० पैसा तोकिएको थियो । समिक्षा अवधिमा नेपाली गोलभेडा (ठुलो) मूल्य पनि ६४.९९ प्रतिशत बढेको छ।
एक सातामै तितो करेलाको भाउ पनि १३८.८९ प्रतिशत बढेर प्रतिकेजी ८६ रुपैयाँ कायम भएको समितिले जनाएको छ। यो गत असार १७ गते प्रतिकेजी ३६ रुपैयाँ कायम भएको थियो । सो अवधिमा रायो साग पनि १२३.५२ प्रतिशत बढेर १२६ रुपैयाँ ६७ पैसा पुगेको छ। यस्तै, जिरीको साग पनि १०१.९२ प्रतिशत वृद्धि भई १७५ रुपैयाँ पुगेको मूल्य सूचीमा उल्लेख छ। समिक्षा अवधिमा हरियो माछे खुर्सानीको भाउ १०४.४५ प्रतिशत र हरियो धनियाँ १५७.१४ प्रतिशत महँगिएको छ ।
यस्तै, भिण्डी प्रतिकेजी ५६ रुपैयाँबाट ७.४३ प्रतिशत वृद्धि भई ९६ रुपैयाँ कायम भएको छ । बोडी (तने) मूल्य पनि ६६.६७ प्रतिशत, भटमाशा कोशा ४७.२९ प्रतिशत, च्याउ (कन्य) ८६ प्रतिशत र डल्ले च्याउको भाउ ७३.६४ प्रतिशत बढेको समितिको तथ्याङ्कले देखाउँछ । यता, हरियो खुर्सानी पनि ६९.७७ प्रतिशत, बुलेट हरियो खुर्सानी ७१.७६ प्रतिशत, भेडे खुर्सानी ५२.१७ प्रतिशत बढेको छ।
निन्तर आएको वर्षाका कारण ढुवानीमा समस्या हुँदा नै तरकारीको भाउ एक सातामै ह्वात्तै बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अधिकारीहरु बताउँछन् ।
विभिन्न ठाउँमा अविरल वर्षाका कारण बाढी पहिरोले सडक अवरुद्ध भएका छन्, त्यसले तरकारी ढुवानीमा समस्या भईरहेको छ । त्यसकारण पनि हरियो तथा मौसमी तरकारीको भाउ ह्वात्तै बढेको हो । यो सिजनमा कालीमाटी तरकारी बजारमा मकवानपुर, काभ्रे, नुवाकोट, धादिङ, चितवन लगायत जिल्लाबाट तरकारी आउने गर्छ । यी क्षेत्रमा वर्षाका कारण सडक अवरुद्ध हुँदा नै अहिले तरकारी आयात पनि घटेको ती अधिकारीले बताए ।