सामसुङका कर्मचारी तीन दिने हडतालमा



ह्वासियोङ, दक्षिण कोरिया । दक्षिण कोरियाली प्रबिधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको माग राख्दै सोमबारदेखि तीन दिने आमहडताल शुरू गरेको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सियोलबाट एक घण्टा दक्षिणमा रहेको ग्योङगीको ह्वासेओङमा रहेको कम्पनीको फाउण्ड्री र सेमीकन्डक्टर फ्याक्ट्रीबाहिर हजारौं मजदुरहरू बर्षादी र रिबन लगाएर भेला भएका छन् । यो हड्तालले दशौं हजार कर्मचारीहरूको प्रतिनिधित्व गर्ने एक युनियनका प्रमुखले एएफपीलाई बताएको समाचारहरूमा उल्लेख छ । सामसुङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता हो र यसले चिप्सको विश्वव्यापी उत्पादनको महत्त्वपूर्ण हिस्सा ओगटेको छ । सामसुङ व्यवस्थापनले जनवरीदेखि युनियनसँगको वार्तालाई रोकेको छ । 

दुबै पक्ष मतभेदलाई कम गर्न असफल भएका छन् । फर्मबाट ५.१ प्रतिशत तलब वृद्धि प्रस्ताव अस्वीकार गरिएको छ । नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियनका प्रमुख सन वू मोकले एएफपीसँग भने,  ‘आजदेखि हडताल शुरू भएको छ । आजको आमहडताल त शुरूआत मात्र हो ।’ 

‘हामी यहाँ किन छौं भनेर सम्झँदै, कृपया जुलाई १० सम्म काममा नआउनुहोस् र कुनै पनि व्यावसायिक कलहरू रिसिभ नगर्नुहोस्,’ उनले कामदारहरूको भीडलाई सम्बोधन गर्दै भने। युनियनले कारखाना, उत्पादन र विकास क्षेत्रका करिब पाँच हजार २०० व्यक्ति विरोध प्रदर्शनमा सहभागी भएको जनाएको छ । 

युनियनका उपाध्यक्ष ली ह्युन कुकले भने, ‘के उनीहरूले यसले सामसुङको उत्पादन लाइनलाई असर पार्नेछ भनेर अझै पनि सोचेका छैनन् ?’ करिब ३० हजार सदस्य रहेको युनियनले वार्ताबाट समस्याको समाधान हुन नसकेपछि गत हप्ता तीन दिने आम हड्तालको घोषणा गरेको थियो ।

युनियनले पहिले वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनससहितका मागहरू राखेको थियो । यससम्बन्धमा सामसुङले आफ्नो धारणा सार्वजनिक गर्न गरिएको अनुरोध अस्वीकार गरेको छ । सेजोङ विश्वविद्यालयका बिजनेस प्रोफेसर किम डे–जोङले एएफपीसँग भने, ‘जारी हडताल तीन दिनका लागि मात्र तय गरिएको छ, तर सहभागी सदस्यहरूमा चिप एसेम्बली लाइनमा काम गर्नेहरू पनि सामेल छन् । ‘समस्या जारी रहेमा युनियनले थप हड्ताल गर्न सक्ने भएकाले प्रतिस्पर्धी चिप्स बजारमा प्रभुत्व जमाउने होडबाजीका बीच यसले सामसुङ व्यवस्थापनलाई ठूलो समस्या सिर्जना गर्नसक्छ ।(रासस/एएफपी) 

प्रतिक्रिया दिनुहोस्