प्रधानमन्त्रीको राजीनामालाई लिएर सदनमा सत्ता र प्रतिपक्षबिच तर्कवितर्क



काठमाडौ,असार २३ । प्रतिनिधि सभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबिच सरकारमा सहभागी ठुलो दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिनुपर्ने वा संविधानको व्यवस्थाअनुसार तीस दिनभित्र विश्वासको मत लिनुपर्ने भन्नेमा तर्कवितर्क भएको छ  ।

आइतबारको बैठकमा विपक्षी बेन्चमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरूले वर्तमान सरकार अल्पमतमा परेकाले राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् भने सत्तापक्षीय दल नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) का सांसदले संवैधानिक प्रक्रियाअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने दोहोर्‍याएका छन् ।

यही असार १७ गते नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच नयाँ सरकार गठनको सहमति भई एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले वर्तमान सरकारले दीर्घकालीन असर गर्ने कुनै पनि निर्णय गर्न नहुनेमा दुवै दलका सांसदले जोड दिएका छन् ।

नेकपा (एमाले)का योगेशकुमार भट्टराईले जनताका समस्या समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बिच सत्ता सहकार्यको समझदारी भएको बताए । “देशमा लगानीको वातावरण बनाउन, बिग्रँदै गएको अर्थतन्त्रलाई सुधार्न, युवावर्गका बाह्यमुलुकतर्फको गमन रोक्न र संविधान पुनरावलोकन गर्न दुई दलले सहकार्यको निर्णय गरेका हुन्”, उनले भने ।

कांग्रेसका सांसद डिगबहादुर लिम्बूले राजनीतिक क्षेत्रमा नयाँ परिस्थिति निर्माण भएको उल्लेख गर्दै अब बन्ने सरकारले जनचाहनाअनुसार काम गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्