भोटेकोसी हाइड्रोमा पुरिएको दुई जनाको शव फेला



सिन्धुपाल्चोक,असार २२ । भोटेकोसी गाउँपालिका हिन्दी स्थित निर्माणाधीन इलेक्ट्रो पावर कम्पनी लिमिटेडको भोटेकोसी जलविद्युत आयोजना–१ (४० मेगावाट)को डिसेन्डर कभर स्ल्याब एक्कासि भत्केर पुरिएका दुई जना मजदुरको १३ घण्टापछि शव फेला परेको छ । 

ढलान भत्किँदा ११ जना मजदुर घाइते भएका थिए भने दुई जना मजदुर बेपत्ता थिए । ढलानले पुरिएर बेपत्ता भई ज्यान गुमाउनेमा बर्दिया ठाकुर बाबा नगरपालिकाका रामदिन थारु र सोही नपाका सुमन थारु रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन भट्टराईले जानकारी दिए । शुक्रवार १ बजेर २५ मिनेटमा ढलान भत्केर पुरिए लगत्तै ढलानको तल्लो भागमा फसेका उनीहरूको सुरक्षा निकायले खोजी र उद्धारमा खटेको थियो । तर शनिवार बिहान ४ बजे उनीहरूको शव प्राप्त भएको हो । 

घटनास्थलबाट घाइते ११ मजदुरलाई उद्धार गरी उपचारका लागि बाह्रबिसे स्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पताल पुर्याईएको थियो । ११ घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्