पुरूषको तुलनामा महिला उद्यमीहरूले धेरै समस्या झेल्नुपरेको छ : सरोकारवाला



काठमाडौं,असार २२। पुरूषको तुलनामा महिला उद्यमीहरूले धेरै समस्या झेल्नुपरेको सरोकारवालाहरूले बताएका छन् । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२४’ कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन् ।

कार्यक्रमअन्तर्गत ‘स्ट्रेन्दनिङ वुमन्स बिजनेश लिडरशीप’ थिममा भएको प्यानल छलफलकी वक्ता तथा इम्प्याक्ट हब, काठमाडौंकी कार्यकारी निर्देशक पद्माक्षी राणाले महिला उद्यमीहरूलाई पुरूषको तुलनामा धेरै समस्या झेल्नुपरेको बताइन् । उनीहरूको सबैभन्दा धेरै ठूलो समस्या भनेको फाइनान्सियल एक्सेस नै रहको उनको भनाइ थियो । बिजनेश प्लान बनाउनेदेखि लिएर धेरै समस्या रहेको भन्दै उनले भनिन्, ‘यस्तो प्लान बनोस्, जसले ती समस्यालाई म्यानेज गर्न सहयोग गरोस् ।’ 

अर्को समस्या भनेको जेनेरेशनको र लैंगिक समस्या रहेको उनले बताइन् । महिलाले उद्यम थाल्नै समस्या हुने गरेको भन्दै उनले भनिन्, ‘फ्यामेली कन्भिन्सिङदेखि महिला हो कसरी गर्न सक्छ यसले भनेर विस्वास नै नगर्ने पनि पाइन्छ । डकुमेन्टेशन रजिस्ट्रेशन कम्युनिकेसन लगायतका समस्या फेस गर्दै आएका छन् ।’

त्यस्तै छलफलमा बोल्दै टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्वस्तिका श्रेष्ठले टिच फर नेपालले शिक्षाको क्षेत्रमा १२ वर्षदेखि काम गर्दै आएका र त्यतिबेलाको एसएलसी रिजल्ट र आजको रिजल्ट हेर्दा खासै फरक नभएको पाइएकाले सबैभन्दा पहिला शिक्षाबाटै महिला सबलीकरण गर्नुपर्नेमा जोड दिइन् । ‘त्यो बेला पनि झण्डै ६० प्रतिशत विद्यार्थी फेल हुने अवस्था थियो । त्यसमा ८० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्थे । त्यसमा धेरै संख्या छोरीको थियो, अहिले पनि अवस्था उस्तै छ,’ उनले भनिन्, ‘हाम्रो समाजमा छोरालाई संस्थागत र छोरीलाई औपचारिक शिक्षामात्रै दिने भन्ने छ । परिवारको अवस्था कारण र छोरी भएकाले सामुदायिक विद्यालयमा गएकाले आफ्नो मोरल डाउन भएको फिल गर्ने देखिन्छ, जसको कारण उनीहरूमा व्यक्तित्व विकास र नेतृत्व विकास नै कम हुने हुँदा उद्यमी भएर वा नेतृत्व नै गरेर आउने अवस्था देखिँदैन ।’

शिक्षामा बदलाव नभएसम्म समस्या सहजै समाधान हुने र महिला आन्त्रप्रेनर आउन गाह्रो हुने उनको भनाइ थियो । परिवारको आर्थिक अवस्था कमजोर हुँदा उनीहरूको अवस्थामा सुधार नहुने भएकाले अभिभावककै लागि पनि काम गर्नु जरूरी रहेको उनको भनाइ थियो। 

राष्ट्रिय योजना आयोगको आर्थिक व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव महेश भट्टराईले नेपालको संविधानले नै महिला समानता तथा विशेष अधिकार दिएर महिला सशक्तीकरणको आधार तयार गरेको बताए । विश्वका कयौं मुलुक आज पनि पछाडि रहेको भन्दै नेपालको आवधिक योजना पनि यसमा सहयोग  गर्दै आएको उनले बताए । महिलाको क्षमता विकास र सशक्तीकरणको बारेमा सँगसँगै अगाडि बढाउन काम गर्नुपर्ने बताए । 

उनले हाल १६औं योजनाको कार्यान्वयनको तयारीमा रहेको र यसमा महिलाका मुद्दालाई अलग्गै राखेर नहेरी विकासका हरेक क्षेत्रमा महिलाका मुद्दालाई प्राथमिकता दिनुपर्छ भनेर काम गरिरहेको बताए । महिलालाई कुनै पनि क्षेत्रमा विभेद गरिने छैन भन्ने ग्यारेन्टी राज्यले गरेकाले त्यसमा केन्द्रित भएको बताए ।

सरकारले कर, बजेट र व्यवसायमासमेत सहुलियत र सहजीकरण गरेको बताए ।  हाल भएका व्यवस्था अपुग भए थप्दै जाने र कार्यान्वयन नभए कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिए ।

उक्त छलफलमा स्टार्टअप डिस्कभरी एशियाकी सहसंस्थापक एवं कार्यक्रम प्रमुख समानता थापाले सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्