वीरगञ्ज नाकाबाट बढ्न थाल्यो गाडीको आयात



वीरगञ्ज,असार २१ । वीरगञ्ज नाकाबाट गाडीको आयात बढेको छ । कोरोना महामारीयता निरन्तर घटेको गाडी आयात चालू आर्थिक वर्ष २०८०८१ का पछिल्ला महीनाहरुमा बढ्दै गएको भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले भन्सारबाट आयातकर्ताले गाडी छुटाएर लैजानेक्रम बढेको बताए । भन्सार कार्यालको तथ्यांकअनुसार चालू आवको  साउनदेखि जेठसम्मको ११ महीनामा जीप कार र भ्यानको आयात २७ दशमलव ६७ प्रतिशतले बढेको छ । 

बितेको ११ महीनामा वीरगञ्जको आईसीपी भन्सारबाट १ हजार ३ सय ७६ ओटा गाडी भित्रिएको देखिन्छ । यो संख्या अघिल्लो वर्ष २०७९८० को सोही अवधिमा १ हजार ७८ मात्रै थियो । कोरोना महामारीयता सरकारले आयात नियन्त्रणको नीति लिनु र आयस्तरमा आएको कमीका कारण बजारमा गाडीको माग घट्दै गएको थियो । 

पछिल्लो समयमा माग बढेपछि आयातकर्ताले भन्सारमा थन्क्याएर राखेका गाडी लैजान थालेको नेपाल इन्टरमोडेल यातायात विकास बोर्डका वीरगञ्ज कार्यालय प्रमुख कमल ज्ञवालीले बताए । आईसीपी र सुक्खा बन्दरगाहमा अहिले गाडीको चाप कम भएको उनले जानकारी दिए । यसअघि आयातकर्ताले भन्सारमा ल्याएर थन्क्याएका गाडी बढी भएपछि व्यवस्थापन नै चुनौतीपूर्ण बनेकोमा अहिले गाडी छुटाउनेक्रम बढेपछि सहज भएको उनको भनाइ छ । 

अहिले केही आयातकर्ताले काठमाडौंमा हालै सञ्चालनमा आएको चोभार सुक्खा बन्दरगाहबाट जाँचपास गराउने गरी गाडी भित्र्याउने गरेको पनि प्रमुख भन्सार प्रशासक पन्थीले बताए ।  केही आयातकर्ताले चोभार बन्दरगाहका लागि मागाउने गरेका छन् । यसले सीमानाकाबाट गाडीको जाँचपास संख्यामा केही समयपछि कमी देखिन सक्दछ, उनले भने । 

पछिल्लो समय वैदेशिक व्यापारमा सुधार आएको दाबी पन्थीको छ । अघिल्लो वर्षको तुलनामा चालू वर्षको पछिल्ला महीनाहरुमा व्यापारमा सुधार आएको छ । तर, बजार पूर्ण चलायनमान भइसकेका भने छैन । बजारले गति समात्ने संकेत भने देखिएको छ, उनले आर्थिक अभियानसित भने । 

गत जेठमा वीरगञ्ज नाकाबाट विद्युतीय जीपकार भ्यान भित्रिए पनि संख्यात्मक रुपमा भने कमी आएको भन्सारको तथ्यांकले देखाउँछ । चिनियाँ विद्युतीय सवारी साधन भित्रिनेक्रम बढेको र यस्तो आयात उत्तरी नाकाबाट हुने भएकाले भारतीय सिमानासित जोडिएका नाकाबाट घटेको भन्सार अधिकारीहरुले बताएका छन् । 

बितेको जेठमा वीरगञ्जबाट १०६ ओटा विद्युतबाट सञ्चालित जीप कार भ्यान भित्रिएकोमा चालू वर्षको सो १ महीनामा ६३ ओटामात्रै जाँचपास भएको भन्सारको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्