सरकारबाट बाहिरिए एमालेका मन्त्री



काठमाडौ,असार १९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो दलबाट सरकारमा सहभागी रहनुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष सामुहिक राजीनामा बुझाएका हुन्  । 

त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहेका उनीहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिएका थिए । मङ्गलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो । सो अवधिमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि एमालेका सबै मन्त्रीहरुले बुधबार अपराह्न प्रधानमन्त्री प्रचण्डसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् । 

यसअघि पार्टी अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री प्रचण्डलाई पठाएका थिए । प्रधानमन्त्री प्रचण्डले पदबाट राजिनामा नदिएपछि एमाले मन्त्रीहरुले राजिनामा बुझाएपनि  माओवादी केन्द्रको बैठकले प्रधानमन्त्रीलाई संसद बैठकमा विश्वासको मत लिन सुझाव दिएको छ । 

प्रतिक्रिया दिनुहोस्