अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि मुद्दा नचल्ने !



वासिङ्टन डिसी (अमेरिका),असार १९ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कुनै पनि मुद्दा नचल्ने भएको छ । अमेरिकी सर्वोच्च अदालतले सोमवार पूर्वराष्ट्रपतिहरूलाई पदमा बहालमा रहँदा गरेका निर्णयविरुद्ध मुद्दा नचल्ने फैसला सुनाएपछि ट्रम्पमाथि मुद्दा नचल्ने भएको हो । 

बेञ्चका बहुमत सदस्यले यो निर्णय गरेका हुन् । बेञ्चका ९ जनामध्ये उक्त फैसलाको पक्षमा ६ जना थिए भने ३ जनाले विरुद्धमा थिए । पूर्व राष्ट्रपतिहरूले व्यक्तिगत हैसियतमा गरेका कामकारबाहीविरुद्ध भने मुद्दा लाग्नेछ । 

अदालतको यो फैसलामाथि ट्रम्पको राष्ट्रपति बन्ने बाधा पनि हटेको छ । ट्रम्पमाथि अमेरिकी राष्ट्रपति हुँदा सन् २०२० नोभेम्बरमा चुनावको नतिजा उल्ट्याउन षड्यन्त्र गरेको आरोप छ । यस सम्बन्धमा उनीविरुद्ध अदालतमा मुद्दा चलिरहेको थियो ।  

अमेरिकाको इतिहासमा सर्वोच्च अदालतले सत्तामा रहँदा पूर्वराष्ट्रपतिको कार्यका लागि फौजदारी मुद्दा चलाउन नसकिने बताएको यो पहिलो पटक हो । 

अदालतको उक्त फैसलाप्रति ट्रम्पको रिपब्लिकन पार्टीले खुशी व्यक्त गरेको छ । तर, डेमोक्रेटिक पार्टीले भने यसमा असन्तुष्टि जनाएको छ । ट्रम्पले अदालतको फैसलालाई संविधान र लोकतन्त्रको ठूलो जीत भएको बताएका छन् । 

अमेरिकी राष्ट्रपति एवं डेमोक्रेटिक पार्टीका नेता जो बाइडेनले भने यो फैसला खतरनाक बन्ने दाबी गरेका छन् । आगामी नोभेम्बरको चुनावमा ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए उनले पदको दुरुपयोग गर्न सक्ने बाइडेनले बताए । 

प्रतिक्रिया दिनुहोस्