६० जनालाई सुन तस्करी प्रकरणमा प्रतिवादी बनाएर ८ अभियोगमा मुद्दा दायर



काठमाडौं,असार १९ । ६० किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले ६० जनालाई प्रतिवादी बनाउँदै फेरि काठमाडौं जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको छ ।

ब्रेक सु र अन्य इलेक्ट्रिक समानमा राखेर गरिएको सुन प्रकरणमा कार्यालयले मंगलवार अर्को साढे दुई खर्ब रुपैयाँभन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । सोही प्रकरणमा २०८० भदौ ३१ गते काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले चिनियाँ नागरिकसहित २९ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा हालिएको थियो ।

पूर्वसभामुख कृष्णबहादुर महरासहितका नेताहरूसँग सम्बन्ध बनाएका चिनियाँ तस्करहरूको समूहले यो तस्करी गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । यो तस्करीका ‘मास्टरमाइन्ड’ मानिएका चिनियाँ नागरिक दाओजिन वाङको नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष समेत रहेका महरासँग धेरैपटक टेलिफोन सम्पर्क भएको प्रहरीले गत वर्ष नै पत्ता लगाएको थियो । तर, त्यतिबेला मुद्दा हालिएन ।

दोस्रो चरणमा दुई डिजिटल भुक्तानी प्रदायक कम्पनीहरूलाई समेत प्रतिवादी बनाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।

विभिन्न डमी कम्पनीका नाममा पैठारी भई आएका मालवस्तुहरूको परीक्षण गर्दा ती मालवस्तुहरूको पार्टपुर्जामा भएको सुनको तौल ३१९४.६६८ के.जी. भएको देखिन आएको अभियोगपत्रमा उल्लेख छ । यसरी बरामद भएको अवैध सुनको मूल्य ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४ सय ४० समेतलाई बिगो दाबी गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्