नुवाकोट लिखुका विद्यालयमध्ये ज्योति कुञ्जको एसइई नतिजा सर्वोत्कृष्ट



नुवाकोट,असार १६ । जिल्लाको लिखु गाउँपालिकाका सामुदायिक तथा निजि विद्यालयमध्ये ज्योति कुञ्ज अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले यस वर्षको एसइई नतिजा सर्वोत्कृष्टसहित सतप्रतिशत विद्यार्थी उत्तीर्ण गरेको छ।

बिक्रम संवत २०६५ सालमा स्थापित ज्योति कुञ्ज विद्यालयले पछिल्लो समय शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको अभिभावकहरुले बताउदै आएका छन् । यस वर्षको एसइईमा सोही विद्यालयकी छात्रा सम्भवी पाण्डेले ३.७८ जीपिए हासिल गर्दै लिखु गाउँपालिकाको शैक्षिक इतिहासमा आफ्नो नाम दर्ज गराउन सफल भएकी छिन् ।

विद्यालयप्रति अभिभावकको विश्वास र विद्यालयको विद्यार्थीप्रतिको लगावले सर्वोत्कृष्टसहित सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको विद्यालयका प्रधानाध्यापक रबिन्द्र डङ्गोलले बताए । उनका अनुसार विद्यालयमा सुबिधासम्पन्न भवनदेखि विद्यार्थीलाई आवश्यक कम्प्युटर ल्याब, खाजा, पानी, खेलकुद लगायत पर्याप्त आधार नै शैक्षिक उन्नतिको आधार भएकाले विद्यालयले यसमा कुनै कन्जुस्याइँ नगरेको बताए ।

प्रधानाध्यापक डङ्गोलले कुनै पनि विद्यार्थीको आधारभुत साक्षरता सिप, भाषिक तथा गणितीय सिप महत्त्वपूर्ण हुने भएकाले विद्यालयले सुरुवाती चरणदेखि नै यस तर्फ ध्यान दिने गरेको बताए । विद्यालयबाट यसवर्ष ११ जना छात्राछात्र एसइईमा समावेश भएका थिए जस अन्तर्गत सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

उता संगैको प्रतिस्पर्धामा रहेको सेई अङ्ग्रेजी आवासीय विद्यालयले पनि राम्रो जीपिएका साथ विद्यार्थी उत्तीर्ण गरेको छ । १६ जना विद्यार्थी सम्मिलित विद्यार्थीमध्ये १४ जना विद्यार्थी ३.७० जीपिएसहित उत्तीर्ण गराएको हो। त्यस्तै नर्थ स्टार बोर्डिङ स्कुलले २० जना विद्यार्थीमध्ये १७ जना विद्यार्थी ३.६० जीपिएसहित उत्तीर्ण गरेको छ ।

देशभर एसइईको नतिजाबारे बहस चलिरहेको बेला यस वर्ष लिखु गाउँपालिकाको सामुदायिक विद्यालयको नतिजा भने निराशाजनक छैन । क्षेत्रपाल माध्यमिक विद्यालयले यसवर्ष ३.३१ जीपिएसहित २५ जना विद्यार्थी उत्तीर्ण गरेको छ भने नारायणदेवी माध्यमिक विद्यालयले २१ जना, महेन्द्र महेशदेवले ८ जना र बच्छला माध्यमिक विद्यालयले ६ जना विद्यार्थी उत्तीर्ण गरेका छन् । कतिपय विद्यार्थीले राम्रो अङ्क प्राप्त गर्दागर्दै पनि अनुत्तीर्ण भएकाले ग्रेड वृद्धि पछिको तथ्यांक सामुदायिक विद्यालयको सुध्रिने अपेक्षा सरोकारवालाहरुले राखेका छन।

भद्रुटारको ३ वटा माविबाट ४ जना विद्यार्थी उत्तीर्ण

जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको ३ वटा माध्यमिक विद्यालयबाट परीक्षा दिएका ३६ जना विद्यार्थी मध्ये ४ जना मात्र एसइई उत्तीर्ण भएका छन् ।जस अन्तर्गत बच्छला माविबाट ९ मा १ जना र कुण्डला माविबाट २१ जनाले परीक्षामा सामेल भएकोमा ३ जनाले सफलता प्राप्त गरेका छन् । भद्रुटारकै भेँडाबारी माविबाट ६ जनाले परीक्षा दिएकामा कुनै विद्यार्थी सफल हुन सकेनन् ।

पञ्चकन्याकै सामुदायिक विद्यालयमध्ये नवसञ्जीवनी माविमा भने नतिजा उल्लेखनीय सुधार देखिएको छ । सो विद्यालयबाट ३९ जना विद्यार्थीले एसईई दिएकोमा २७ जनाले पास गरेका छन् । इन्द्रायणि माविबाट १४ जनाले परीक्षा दिएकामा ४ उत्तीर्ण, राष्ट्रिय माविबाट १९ जना सहभागी भएकामा ८ जना पास भएका छन् भने कालिका माविबाट २४ जनाले परीक्षा दिएकोमा ४ जना मात्र सफल भएका छन् । 

पञ्चकन्याकै पञ्चकन्या माविबाट २४ जना सहभागी भएकोमा ६ जना, उदय जालपा माविबाट १७ ले परीक्षा दिएकामा ४ जना उत्तीर्ण भएका छन् । बिहीबार सार्वजनिक एसईई नतिजामा पञ्चकन्या पालिकाभित्रका रहेका १० माध्यमिक विद्यालयबाट सहभागी १ सय ९४ विद्यार्थीमध्ये ६० जना अर्थात् ३० प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका हुन् । राष्ट्रिय नतिजामा भने ४७.८७ विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्