रुससँगको युद्ध अन्त्य गर्न ‘व्यापक योजना’ को मस्यौदा तयार पार्दै युक्रेनी राष्ट्रपति



युक्रेन,असार १५ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न विश्वको बहुमतले समर्थन गर्ने ‘व्यापक योजना’ तयार गरिरहेको अल जजिराले शनिबार जनाएको छ ।

“विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना देखाउनु आफ्नो लागि धेरै महत्त्वपूर्ण छ,” युक्रेनी राष्ट्रपतिले स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार किएभमा आयोजित पत्रकार सम्मेलनमा भने । उनले यो कूटनीतिक मार्ग भएको र यसमा आफूहरूले काम गरिरहेको बताउँदै युक्रेन र रुसबिच हाल कुनै वार्ता भने नभएको उनको स्पष्टोक्ति रहेको छ ।

युक्रेन र रुसबिच हालसम्म कुनै वार्ता नभएकाले  जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक बयानका आधारमा सम्भावित शान्ति सम्झौताका सर्तहरूको कुरा गर्दा दुई पक्ष पहिलेभन्दा धेरै टाढा देखिन्छन् ।

शान्ति वार्ता सुरु हुनअघि युक्रेनले बारम्बार क्रिमियाको प्रायद्वीपसहित आफ्नो अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रबाट रुसले आफ्नो सेना फिर्ता लिनुपर्ने बताउँदै आएको छ ।

यद्यपि २०२२ फेब्रुअरीमा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसको कब्जामा रहेको आफ्नो पूर्व र दक्षिणको थप क्षेत्र खाली गरेर प्रभावकारी रूपमा आत्मसमर्पण गर्न माग गरेका छन् ।

चालु महिनाको सुरुमा युक्रेनी राष्ट्रपतिले स्विजरल्याण्डमा एउटा अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गरेका थिए । सम्मेलनमा युक्रेनको स्थितिका लागि समर्थन जुटाउन रुसलाई आमन्त्रित गरिएको थिएन ।

स्विजरल्याण्डमा भएको दुई दिने शिखर सम्मेलनमा ९० भन्दा बढी देशहरूले नेता र वरिष्ठ अधिकारीहरू पठाएको र अधिकांशले युक्रेनको ‘क्षेत्रीय अखण्डतालाई  सम्झौतामा सम्मान गर्नुपर्ने कुरामा जोड दिने अन्तिम विज्ञप्ति जारी गर्न सहमत भएको अल जजिराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्