त्रिशुली नदीमा वृद्धको शव फेला
गोरखा,असार १५ । गोरखा तर्फको गण्डकी गाउँपालिका–६ दुर्बुङ नजिकै त्रिशूली नदीमा एक वृद्धको शव फेला परेको छ ।
फेला परेको शव धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ का ७१ वर्षीय नुर बहादुर विश्वकर्माको भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार शुक्रबार साँझ त्रिशूली नदीको गोरखातर्फको भागमा पुरुषको शव पानीमा तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शुक्रबार नै जिल्ला प्रहरी कार्यालय गोरखाको टोली घटनास्थल तर्फ पुगी शवको प्रकृति मुचुल्का तयार पारी शवलाई गोरखा अस्पतालमा ल्याएर राखिएको उनले बताए ।