धान दिवसमा नुवाकोट पुगेर डाक्टर महतले रोपे छुपुछुपु धान
नुवाकोट,असार १५। काङ्ग्रेस नेता एवम् पुर्व अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले नुवाकोट पुगेर छुपुछुपु धान रोपेका छन् ।
शनिबार एक्काइसौं राष्ट्रिय धान दिवस – २०८१ अर्थात् असार १५ को अवसरमा नेपाल किसान महासंघ, नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा नं. ६ स्थित थानसिंह फाँटमा आयोजित बृहत धान रोपाइँ कार्यक्रममा नेता डाक्टर महतले धान रोपेका हुन्। रोपाइँ गर्दै नेता महतले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारचारमा सरकारले जोड दिनुपर्ने बताए ।
“नयाँ प्राविधिको प्रयोगमा सरकारले किसानलाई सहयोग गर्नुपर्छ”, उनले भने, “जनशक्ति घट्दा खेतीयोग्य भूमि बाँझै छन् । यन्त्रको सहयोगले बढीभन्दा बढी भूमिमा खेती गरेर उत्पादकत्व बढाउन लाग्नुपर्छ ।” किसानलाई मलको अभाव हुन नदिन प्राङ्गारिक मलको उत्पादन र उपभोगमा लाग्न पूर्वमन्त्री महतले किसानलाई अनुरोध गरे ।
“किसानले रासायनिक मल खरिद गर्न धेरै लगानी र समय खर्चेका छन्”, उनले भने, “गोठमै बनाउन सकिने कम्पोष्ट मल र प्राङ्गारिक झोल मल बनाउन किसानलाई सरकारको सहयोग आवश्यक छ ।” उनले बीउ, मल, सिँचाइ र उत्पादित कृषि उब्जनीको बजारीकरणको समस्यालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने उनले बताए ।
कार्यक्रममा काङ्ग्रेस नेता एवम् नेपाली काङ्ग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, अर्का नेता प्रल्हाद पन्त, अजय पाठक, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुब श्रेष्ठ लगायतले धान दिवसको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा थान्सिङ फाट मा मेसिनद्वारा धान समेत रोपिएको थियोे । पछिल्लो समय थान्सिङ फाट लगायत विभिन्न क्षेत्रमा मेसिन बाट धान रोपाइँ गर्न थालिएको छ।