चितवनमा यस वर्ष मल अभाव नहुने, धमाधम विक्री वितरण गरिँदै
चितवन,असार १४ । विगतका वर्षहरूमा जस्तो यस वर्ष चितवनका किसानले मल अभाव झेल्न नपर्ने भएको छ । सरकारले समयमै मल खरीद गरी हरेक जिल्लामा पठाएसँगै यो समस्या नहुने देखिएको हो ।
मलको अभावमा किसान लामो समय लाइन बस्नु पर्ने बाध्यता यस वर्ष नरहेको जिल्लामा मल विक्री गर्दै आइरहेका संस्थाहरूले जनाएका छन् । कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले जिल्लामा अघिल्ला वर्षहरूमा जस्तो मलको अभाव नभएको बताएका छन् ।
केन्द्रका प्रमुख राजन बगालेले जिल्लामा हाल नियमितरूपमा मल आइरहेको र सोहीअनुसार विक्री वितरण भइरहेको जानकारी दिए । जिल्लाका २५० भन्दा बढी संघसंस्थाबाट मल विक्री भइरहेको छ । केन्द्रमा अहिले ४६३ टन युरिया, ३३२ टन डीएपी र १२६ सय टन पोटार मौज्दात रहेको छ ।
केन्द्रमा आएको ५६५ टन युरिया, ५४० टन डीएपी र २०० टन पोटास विक्री वितरण भएको उनले जानकारी दिए । उनले भने, ‘अहिले जिल्लामा मल पर्याप्त मात्रामा आएको छ । आउने क्रममा पनि रहेको छ ।’
यो वर्ष मलको अभाव नहुने उनले बताए । तर, चितवनमा समग्र वर्षभर आवश्यक मलको ५० प्रतिशत मात्र आयात हुने गरेको छ ।
किसानहरूले मकै लगाउने समयदेखि नै मलको व्यवस्था गरेकाले पहिलाको जस्तो समस्या नहुने बगालले बताए । विशेषगरी धानखेतीको लागि मलको अभाव नहुने उनको भनाइ छ ।
जिल्लामा यो वर्ष ६ हजार टन युरिया, ४ हजार टन डीएपी र ६०० टन पोटासको आवश्यकता रहेको भन्दै उनले मल आउने क्रम जारी रहेको बताए । अहिले केन्द्रमा १ हजार ५ सय टन युरिया, १ हजार टन डीएपी र १५० टन पोटास आउने क्रममा रहेको बगालेले जानकारी दिए ।
यस्तै, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडमा अहिले ४ हजार २ सय बोरा युरिया, ९ हजार ३०० बोरा डीएपी र २१४ बोरा पोटास मल छ ।
कार्यालयका प्रमुख बुद्धिविनोद दाहालका अनुसार डीएपी १७ हजार बोरा आउने क्रममा छ भने युरिया र पोटासको कोटा विभाजन भइसकेको छैन । यस संस्थाबाट २२७ वटा संघसंस्थाले मल लगेर विक्रीवितरण गर्दै आएका छन् ।
उनले भने, ‘दुई ओटा संस्थाले मल विक्री वितरण गरिरहेकाले अघिल्ला वर्षको जस्तो समस्या यस वर्ष नहुने देखिन्छ ।’ शुरुआती समयदेखि नै मल आवश्यक मात्रामा आउन थालेकाले समस्या नहुने उनले बताए ।