सीमापारिका बजारमा नेपालीको चहलपहल बढेपछि जनकपुरधामको व्यापार व्यवसाय प्रभावित
जनकपुरधाम,असार १३ । धनुषा र महोत्तरीसँग जोडिएको भारतीय सीमा नाकामा व्यापारिक चहलपहल बढेको छ । यी जिल्लाका सीमा नाकापारिका बजारमा नेपालबाट सामान खरीद गर्न जानेहरूको भीडभाड बढेको हो ।
दैनिक उपयोग्य लगायत सामानका लागि उपभोक्ता भारतीय बजार जाने क्रम बढ्दा जनकपुरधाममा भने पसल व्यवसाय सुक्ने अवस्थामा पुगेको स्थानीय व्यापारीले बताएका छन् । भारतको हर्ने बजारका मोबाइल पसल सञ्चालक जीवन साहले आफ्नो पसलमा नेपालबाट मोबाइल तथा पार्ट्स खरीदका लागि आउनेहरू बढेको बताए । नेपालको तुलनामा भारतमा मोबाइल र यसका पाटर््स सस्तो भएकाले खरीदका लागि सीमाक्षेत्रका धेरै नेपाली आउने गरेको उनले सुनाए ।
यसैगरी महोत्तरीसँग सीमा जोडिएका गाउँका बासिन्दा पनि घरायसी वस्तु खरीदका लागि भिठामोड, मलिवारा जाने गरेका छन् । उनीहरूले भारतीय बजारबाट नून, तेल, दाल, चामल जस्ता खाद्यवस्तु ल्याउने गरेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अनुसार जनकपुरधामबाट नेपाल भारत सीमा नाका नजिक भएकाले अधिकांश स्थानीयले भारतीय बजारबाटै दैनिक उपभोग्य लगायत वस्तु किनेर ल्याउने गरेका छन् । धनुषासँग जोडिएका सीमा नाकाबाट मासिक ३० लाखदेखि ६० लाख रुपैयाँसम्मको सामान भित्रिने गरेको संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । खुला सीमा नाका रहेको र विवाह, व्रतबन्ध, भोजभतेर मृत्यु संस्कार लगायत प्रयोजनका सामान स्थानीय तहका वडाध्यक्षको सिफारिशमा सजिलै आउँदा जनकपुरधामको व्यापार व्यवसाय प्रभावित भएको उनले बताए ।
पछिल्लो समय व्यापार व्यवसाय ठप्पप्राय: हुँदा घर/सटरको भाडा दिन समेत समस्या भएको जनकपुरधामको भानुचोक रोडमा रहेको एमडी मोबाइलका सञ्चालक मो. खालिद शेषले बताए । ‘खेत बेचेर मोबाइलको पसल खोलेको छु, तर पसलमा ग्राहक नै छैनन्,’ उनले भने ।
उनका अनुसार एक वर्षअघिसम्म पनि दैनिक १०–१२ ओटा मोबाइल विक्री हुने गरेकोमा अहिले मुश्किलले २–३ ओटा विक्री हुने गरेका छन् । यस्तै गुनासो जनकपुरधामको क्याम्पसचोकमा रहेको बरकाती सप्लायर्सका सञ्चालक मो. नसीम अख्तर शेषको पनि छ । घर बनाउन प्रयोग हुने टाइल्स, बाथरूममा प्रयोग हुने सामानको विक्री अहिले ह्वात्तै घटेको उनी बताउँछन् । जनकपुरधामको मुरलीचोकमा रहेको किराना पसलका सञ्चालक लालबाबु साहका अनुसार मानिसले दैनिक प्रयोग गर्ने सामानको विक्री अहिले आधा घटेको छ ।
खुला सीमा भएकाले भारतीय बजारबाट अधिकांश मालसामान अवैध रूपमा भित्रिँदा स्थानीय पसल व्यवसाय बन्द हुने अवस्थामा पुगेको व्यापारीहरूको गुनासो छ । यता, सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले भने भारतबाट भित्रिने वस्तुको चेकजाँचमा कडाइ गरिएको दाबी गरेको छ ।