झापा यातायात व्यवस्था कार्यालयले उठायो एघार महिनामा ८५ करोड बढी राजस्व



भद्रपुर (झापा),असार १२। यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा रु ८५ करोड ७५ लाख ५४ हजार पाँच सय ८९ राजस्व संकलन गरेको छ । कार्यालयले जेठ महिनामा मात्रै रु ६ करोड २४ लाख ४० हजार ४१७ राजस्व संकलन गरेको जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख बाबुराम शर्मा लुइँटेलका अनुसार चालु आवको जेठ महिनासम्म सवारीसाधन करतर्फ रु ६९ करोड ७७ लाख ८९ हजार ७७९, प्रशासनिक सेवा शुल्कवापत रु एक करोड ७९ लाख ९३ हजार १८३, सवारीचालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु १४ करोड १६ लाख ८८ हजार १६७ राजस्व असुली गरेको छ ।

चालु आवको ११ महिनाको अवधिमा नौ हजार ५४२ सवारीसाधन दर्ता हुँदा ३३ हजार ११९ सवारी नवीकरण भएका लुइँटेलले बताए । सोही अवधिमा १२ हजार ३२२ नयाँ चालक अनुमतिपत्र, १६ हजार ५४८ को नामसारी हुँदा १० हजार २६३ सवारी जाँचपास भएका उनले जानकारी दिए।

चालु आवको ११ महिनामा ६ हजार ७१४ मोटरसाइकल दर्ता हुँदा एक हजार ६३८ ई–रिक्सा दर्ता भएको कार्यालयले जनाएको छ । यहाँ हप्ताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको ५ दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्