६ महानगरपालिका : काठमाडौंको बजेट सबैभन्दा धेरै, कसले कति ल्याए ?
काठमाडौं,असार ११ । ६ वटै महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेका छन् । काठमाडौं, ललितपुर, भरतपुर, वीरगन्ज, विराटनगर र पोखरा महानगरपालिकाले नगर सभा गरेर आ.ब. २०८१/८२ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् । स्थानीय तहले असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
६ वटा महानगरमध्ये काठमाडौं महानगरले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ । काठमाडौं महानगरले चालु आर्थिक वर्षकोभन्दा १६ करोड रुपैयाँ बढाएर आगामी आर्थिक वर्षको लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट ल्याएको छ। काठमाडौँ महानगरले गत बर्ष २४ अर्ब ८ करोडको बजेट प्रस्तुत गरेको थियो ।
महानगरले आगामी आर्थिक वर्षमा ११ वटा गौरवका योजना अगाडि सारेका छन् । त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले जानकारी दिएकी छन् ।
त्यस्तै, काठमाडौं महानगरले २ अर्ब बराबरको ३० वटा स्वर्णिम योजना ल्याएका छन् । जसमा ढलरहित नदीलगायत रहेका छन् । बजेटमा महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख जम्मा हुने र जग्गा एकीकरणबाट १ अर्ब ५० करोड आम्दानी हुने लक्ष्य राखिएको छ।
ललितपुर महानगरले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालु वर्षका लागि ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको ललितपुरले आगामी वर्षका लागि बजेटको आकार १५ प्रतिशतले बढी हो ।
यसमध्ये चालूतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार विनियोजन भएको छ । चालु आर्थिक वर्षका लागि २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ चालू खर्चतर्फ विनियोजन भएको थियो ।
विनियोजन भएकोमा आगामी वर्षमा सामाजिक सुरक्षा भत्ता बापत थप १५ करोड विनियोजन भएको छ । यस्तै, अन्य प्रशासनिक खर्च तर्फका पारिश्रमिक लगायतका अनिवार्य दायित्वको रूपमा रहेको खर्चमा हुने वृद्धिका आधारमा चालु खर्च तर्फ गत वर्षको तुलनामा करिब २९ करोड बढ्ने प्रक्षेपण गरिएको छ ।
कास्कीको पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि साढे ७ अर्ब बजेट ल्याएको छ । पोखरा सभागृहमा भएको १५औं नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
पर्यटन, कृषि, उद्योग तथा व्यापार क्षेत्रको सम्वन्ध सुदृढीकरणदेखि सरलीकृत, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको जनाएको छ ।
पर्यटनतर्फ पोखरा भ्रमण वर्ष घोषणा गर्ने योजना महानगरपालिकाले ल्याएको छ । भौतिक पूर्वाधारतर्फ आफ्नै भवन नभएका वडामा कार्यालय बनाउने र महानगरको आफ्नै प्रशासकीय भवनको थालनी गर्न महानगरले बजेट विनियोजन गरेको छ ।
महानगरपालिकाले स्रोतमा संघीय सरकारबाट अनुदान ४ अर्ब २० करोड २२ लाख १ हजार रुपैयाँ, प्रदेश सरकारबाट अनुदान ९ करोड ६३ लाख ८१ हजार रुपैयाँ र आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
त्यसैगरी, चितवनको भरतपुर महानगरले ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेका छन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा थोरै बढी हो । गत वर्षको नगर सभामा आर्थिक वर्ष ०८०/८१ का लागि ६ अर्ब ४८ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट पेस भएको थियो ।
आन्तरिक आय १ अर्ब ८० करोड रुपैयाँ हुने अनुमान गरिएको छ । बजेटले आन्तरिक आयमा घरजग्गा रजिस्ट्रेसन र खानी तथा खनिजजन्य पदार्थबाट प्राप्त हुने आयसमेत समावेश गरेको छ ।
महानगरले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी दिन बाँकी रहेका र क्रमागत एव बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न सवैभन्दा धेरै एक अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि तीन अर्ब ७६ करोड ६५ लाख रुपैयाँ विनियोजन भएकोमा असार पहिलो हप्तासम्म १ अर्ब ३४ करोड ८५ लाख अर्थात ३६ प्रतिशतको हाराहारीमा मात्रै खर्च भएको छ ।
महानगरपालिकाले ठूला तथा रणनैतिक महत्त्व तथा गौरवपूर्ण पूर्वाधारका लागि १२ करोड रुपैयाँ, मेयर विपन्न आवास, सार्वजनिक शौचालय, हरियाली नमुना सडक, खुला व्यायामशाला जस्ता कार्यक्रमका लागि १४ करोड रुपैयाँ विनियोजन गरेको छ । कृषिका लागि ६ करोड रुपैयाँ र पशु विकासका लागि ७ करोड रुपैयाँ छुट्याएको छ ।
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि संघ, प्रदेश र भरतपुरले साझोदारी गर्ने भएको छ । महानगरले यसका लागि चार करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।
मोरङको विराटनगर महानगरले ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजारको अनुमानित बजेट ल्याएको छ। आगामी वर्षको कूल अनुमानित बजेटकालागि आन्तरिक आयबाट १ अर्ब १० करोड ८६ लाख ८५ हजार, वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट ३२ करोड ६६ लाख, प्रदेश सरकारबाट २ करोड ४९ लाख २९ हजार, राजश्व बाँडफाँडमध्ये मूल्य अभिबृद्धि करबाट १६ करोड ११ लाख ७६ हजार, अन्तशूल्कबाट ५ करोड ८५ लााख ४१ हजार, वन रोयल्टीवाट ५ लाख ८२ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट ५६ करोड ७९ लाख २८ हजार, सवारी साधन करबाट ३ करोड ८७ लाख एक हजार, मनोरञ्जन तथा विज्ञापन करबाट एक करोड आय गर्ने लक्ष्य राखेको छ।
त्यसैगरी आयमध्ये संघीय सरकार सशर्त अनुदान ८० करोड ७७ लाख, विशेष अनुदान ७ करोड ५० लाख, समपुरक अनुदान १ करोड १० लाख, प्रदेश सरकार सशर्त अनुदान ३ करोड ९० लाख ४३ हजार, प्रदेश सरकार समपुरक अनुदान २ करोड र नगद मौज्जाद २५ करोड सहित आगामी वर्षको कुल बजेट ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार पुग्ने अनुमान महानगरको छ ।
त्यस्तै पर्सास्थित वीरगञ्ज महानगरले २ अर्ब ८९ करोड ४८ लाखको अनुमानित बजेट ल्याएको छ। चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ६२ करोडले घटेर आएको छ। चालू आवमा महानगरको बजेट (संशोधित) तीन अर्ब ५१ करोड रहेको छ।
खर्च व्यहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजस्वबाट ७९ करोड ७५ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट एक अर्ब २७ करोड ९० लाख, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको उल्लेख छ। यसैगरी, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड ३५ लाख, प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको महानगरले जनाएको छ।