एप्पलले कानुन उल्लंघन गरेको इयूको गम्भीर आरोप



काठमाडौं,असार ११ । युरोपियन युनियन (ईयू)का नियामकहरूले एप्पलले ठूला टेक कम्पनीहरूमाथि लगाम लगाउन बनाइएको नयाँ कानूनको उल्लघंन गरेको आरोप लगाएका छन् । ईयूमा अस्वस्थ  प्रतिस्पर्धालाई नियमन गर्ने युरोपियन कमिसनले एप्पलको एप स्टोरले प्रतिद्वन्द्वी बजारलाई दवाब पारेको बताएको छ ।

उसले डिजिटल मार्केट्स एक्ट (डीएमए) को उल्लङ्घन गरेको बताइएको छ । नियमको पालना गर्न नसकेमा कम्पनीले आफ्नो विश्वव्यापी आम्दानीको १० प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । ‘हाम्रो योजना र कानूनको पालना गर्नेमा हामी विश्वस्त छौं,’ एप्पलले भनेको छ ।

टेक जायन्टलाई अनुसन्धानमा देखिएका प्रारम्भिक निष्कर्षहरूको समीक्षा गर्ने अवसर दिइएको छ । यदि यसले ईयूलाई चित्तबुझ्दो जवाफ दिएको खण्डमा चर्को जरिवानाबाट जोगिन सक्छ । यूरोपियन कमिसनका अनुसार डेभलपरहरूले एप्पलले सञ्चालन गरेको एप स्टोरभन्दा सस्तो एप स्टोर उपलब्ध हुँदा ग्राहकलाई स्वतन्त्ररूपमा प्रयोग गर्ने सक्ने बताउनुपर्ने थियो । यसअघि मार्चमा ईयूले त्यस्तो विकल्पका लागि अनुमति दिन भनेको थियो ।

कम्पनीले आफ्नो एप स्टोरमा डेभलपर्ससँग औसत ३० प्रतिशत कमिसन लिने गरेको छ । ईयूका आयुक्त थियरी ब्रेटनले भने, ‘हामीसँग विश्वास गर्ने कारण छ, एप स्टोरको नियमले एप डेभलपरहरूलाई उनीहरूका आफ्नै प्रयोगकर्ताहरूसँग स्वतन्त्ररूपमा कुराकानी गर्न पनि अनुमति दिँदैन ।’

कमिसनले एप्पलको शुल्कमा कडाइका साथ आवश्यक भन्दा बढी भएको आरोप पनि लगाएको छ । यसको जवाफमा एप्पलले डीएमएको पालना गर्नका लागि पछिल्ला केही महीनामा परिवर्तनहरू गरेको जनाएको छ । ‘हामीले बनाएको नयाँ व्यावसायिक सर्तअन्तर्गत ९९ प्रतिशतभन्दा बढी डेभलपरले एप्पललाई समान वा सोभन्दा कम शुल्क तिर्ने अनुमान गरेका छौं,’ एप्पलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एप स्टोरमा ईयूमा व्यापार गर्ने सबै विकासकर्ताहरूसँग हामीले प्रस्तुत गरेका क्षमताहरू प्रयोग गर्ने अवसर छ, जसमा प्रयोगकर्ताहरूलाई वेबमा निर्देशित गर्ने क्षमतासमेत छ ।  एप्पलको अर्को मुख्य तर्क प्रयोगकर्ताहरूले आधिकारिक एप स्टोरमा रहँदा कडा सुरक्षा उपायहरूबाट फाइदा लिन सक्छन् । जवाफमा ईयूले सुरक्षाका विषयमा छलफल गर्ने बताएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्