भरतपुर महानगरपालिकाले छुट्यायो कृषिमा १३ करोड बजेट
चितवन,असार ११। जिल्लाको भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार भएको पन्ध्रौं अधिवेशनमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि प्रविधि प्रसार कार्यक्रम गर्ने विषय समावेश गरिएको छ ।
वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि व्यावसायिक खेती गर्न कृषि उपकरण खरीदमा अनुदान, कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, कृषकको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन गर्न ६ करोड रुपैयाँ विनियोजन गरिएको प्रमुख दाहालले बताइन् ।
दुध उत्पादनमा दिइँदै आएको उत्पादनमा आधारित प्रतिलिटर ३ रुपैयाँ अनुदान कार्यक्रमलाई निरन्तरता, पशु बीमा कार्यक्रम सञ्चालन, मत्स्यफर्महरूमा प्रयोग हुने विद्युत् महसुलमा ५० प्रतिशत अनुदान निरन्तरतालगायत पशु विकास कार्यक्रम कार्यान्वयन गर्न ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
‘भरतपुर महानगरपालिकालाई उन्नत बीउ तथा खाद्यान्न उत्पादनको हबको रूपमा विकास गरिने छ,’ उनले भनिन, ‘वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि व्यावसायिक खेती गर्न कृषि उपकरण खरीदमा अनुदान, बाँझो जमिनमा खेती गर्ने कृषकहरूलाई प्रोत्साहन गरिने छ ।’
यस्तै रैथानै बालीको प्रवद्र्धन, प्राङ्गारिक मलको उत्पादन र प्रयोगलाई प्रोत्साहन, आईपीएम कृषक पाठशालालाई निरन्तरता, रासायनिक मलको न्यायोचित वितरण तथा नियमन, कृषि सूचना प्रणालीको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, कृषिको तथ्यांकलाई सुदृढीकरण, किसानका क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग कृषि तथा पशुपालनको क्षेत्रमा प्रविधि विकास तथा विस्तार र विज्ञ सेवाको लागि सहकार्यमा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘भरतपुर भ्रमण वर्ष २०२४’को सन्दर्भमा महानगरपालिकामा रहेका उत्कृष्ट कृषि फर्महरूलाई अध्ययन अवलोकन र नमुनाका रूपमा विकास गरी कृषि पर्यटन (एग्रो टुरिज्म)लाई प्रवद्र्धन गर्न कृषक समूह तथा सहकारीहरूलाई प्रोत्साहन गरिने प्रमुख दाहालले बताइन् ।
‘स्वस्थ आहार, स्वस्थ व्यवहार’ अनुरूप आफैले आफ्ना लागि तरकारी उत्पादन तथा हरियाली प्रवद्र्धनका लागि सहरी क्षेत्रमा कौशी र करेसाबारीमा तरकारी, फलफूल तथा फूल खेती प्रवद्र्धन गर्न प्रोत्साहन गरिनुका साथै ‘खेतखेतमा कृषि प्राविधिक, गोठगोठमा पशु प्राविधिक’ नीतिलाई कार्यान्वयनमा लगिने नीति तथा कार्यक्रममा उल्लेख छ ।