उद्योग वाणिज्य संघ चितवनका पदाधिकारीलाई केबुलकारमा छुट
चितवन,असार १० । उद्योग वाणिज्य संघ (उवासंघ), चितवनका सदस्यहरूले मौलाकालिका मन्दिर दर्शन गर्न जाँदा केबुलकारको टिकटमा छूट पाउने भएका छन् । केवुलकारमा छूट दिनेसम्बन्धी मौलाकाली केबुलकार लिमिटेड र उवासंघ, चितवनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
उवासंघ, चितवनको संस्थागत उत्तरदायित्वअन्र्तगत संघमा आवद्ध सदस्य व्यवसायीलाई केबलकारमा २० प्रतिशत छूट दिने सम्झौता गरिएको संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताए । उनले अन्य सेवा उपलब्ध गराउने संस्थाहरूसँग पनि छूट गराउन पहल गरिरहेको बताए । केबुलकारको छूटमा टिकट खरीद गर्नको लागि मौलाकाली केबुलकारको कार्यालय वा काउन्टरबाट टिकट खरीद गर्न सकिने छ ।
नवलपुरको गैंडाकोटस्थित सञ्चालित मौलाकाली केबुलकारको छूट पाउन उवासंघ, चितवनका सदस्यले संघबाट उपलब्ध गराएको सदस्यता परिचयपत्र देखाउनु पर्ने र संघको सदस्यता नवीकरण भएको हुनुपर्ने संघका कार्यकारी निर्देशक नील बहादुर केसीले जानकारी दिए ।