जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु हुँदैन : पूर्वबैंकर क्षेत्री
काठमाडौं,असार १० । पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति ट्रेण्ड डरलाग्दो अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतवार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा देखिएको सुस्तताले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति पनि बढ्दै गएको धारणा राखेका हुन् ।
नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको अवस्था र त्यसको असर विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले खराब कर्जाको बढ्दो ट्रेण्डले वित्तीय संस्थाको नाफा, पूँजी कोष र तरलतामा प्रभाव परेको बताए । उनले पाँच वर्षअघि १.८१ प्रतिशत रहेको बैंकको खराब कर्जा अहिले ३.९८ प्रतिशत पुग्नु ठूलो दबाब रहेको बताए ।
‘२०७६ मा प्रोभिजनिङ ६९ अर्ब रहेकामा अहिले २ खर्ब ३३ अर्ब पुगेको छ । लोन लस प्रोभिजनको शीर्षकमा रकम बढ्दै गएको छ । २०७६ मा गैर बैंकिङ सम्पत्ति साढे ६ अर्ब रहेकोमा अहिले २७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, पाँच वर्षअघि रिटर्न अन इक्विटी (आरओई) १२.५९ थियो, अहिले ७.६८ प्रतिशत छ,’ उनले भने, ‘यसले पनि बैंक कति दबाबमा छन् भन्ने देखिन्छ ।’