मुग्लिनका महिलालाई सर्फ र साबुन बनाउने तालिम
चितवन,असार १० । उद्यममा जोड्ने उद्देश्यसहित मुग्लिनका महिलालाई १५ दिने सर्फ र साबुन बनाउने तालिम दिइएको छ । इच्छाकामना गृहिणी महिला सशक्तीकरण कार्यक्रमअन्र्तगत इच्छाकामना गाउँपालिकाको आयोजना तथा सिजर्नशील महिला जागरण केन्द्रको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै गाउंँपालिका अध्यक्ष दान बहादुर गुरुङले सिकेको शीपलाई व्यवहारमा लागू गर्न आग्रह गरे । उनले गाउँपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि मागको आधारमा विभिन्न तालिम सञ्चालन गरिरहेको बताए ।
अध्यक्ष गुरुङले सिर्जनशील महिला जागरण केन्द्रले इच्छाकामनामा उदाहरणीय काम गरिरहेको बताए । उनले उद्योग सञ्चालनका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउंँदै सर्फ बनाउनका लागि मेसिन खरीद गर्न सहयोग गर्ने आश्वासन दिए । पालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराइदिने बताएको छ । उत्पादित सामानको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
१५ दिनसम्म चलेको तालिममा २० जना महिला सहभागी थिए । तालिममा कृष्ण रिमाल, सपना अधिकारी र पुष्पा थापाले प्रशिक्षण दिएका थिए ।