उत्तरी नाकामा चहलपहल बढ्दो



काठमाडौं,असार १० । चीनसँग जोडिएको तातोपानी नाकामा अचेल रौनक बढेको छ । चिनियाँ सामान आयात गरी काठमाडौं ओसार्नेको चहलपहलबाट भूकम्प र कोभिड–१९ ले थिलथिलो भएका सिन्धुपाल्चोकका होटेल व्यवसायीले समेत राहत महसूस गरेका छन् ।

२०७२ सालमा आएको विध्वंसकारी भूकम्पपछि यो नाका साढे ४ वर्ष पूर्ण रूपमा बन्द भयो । २०७६ वैशाखमा फेरि सञ्चालनमा आएको यो नाका सोही वर्ष शुरू भएको कोरोना महामारीका कारण चैतबाट पुन: बन्द भयो । 

नाका पुन: पूर्ण रूपमा सञ्चालन गर्न गतवर्ष वैशाखसम्म कुर्नुपर्‍यो, फलस्वरूप यो नाकाक्षेत्रका होटेललगायत थुप्रै व्यवसाय संकटग्रस्त हुन पुगे । गत सालदेखि नाकामा चहलपहल बढ्न थालेपछि व्यापारमा क्रमिक सुधार आएको तातोपानीमा होटेल व्यवसाय गर्दै आएका शिवप्रसाद नेपाल बताउँछन् । 

उनका अनुसार अचेल हरेक दिनजसो व्यापार फस्टाइरहेको छ । ‘भूकम्प र कोभिड–१९ ले गर्दा ठूलो क्षति बेहोर्नुपरेको थियो । अहिले नाका सहज हुँदा हाम्रो व्यापार दुई गुनाले बढेको छ,’ उनले भने ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्वअध्यक्ष अशोककुमार श्रेष्ठ पछिल्ला दिनमा चीनबाट सामान ल्याउन सहज रहेको बताउँछन् । उनका अनुसार माग गरेअनुसारको सामान चिनियाँ व्यापारीले सहज रूपमै उपलब्ध गराउने गरेका छन् । ‘दुवैतर्फको नाकामा कुनै समस्या छैन,’ उनले भने, ‘सामान अर्डर गरेपछि समयमै ल्याउन पाएका छौं ।’

 

तातोपानी भन्सार कार्यालय तथा स्थानीय सरकारका अनुसार भूकम्प जानुभन्दा अघिसम्म तातोपानी नाकाबाट कन्टेनर र अन्य गरी १ हजार ५०० भन्दा बढी सवारीसाधन सञ्चालन हुन्थे । नाकाबाट वर्षेनि १५ हजारभन्दा बढी पर्यटक आउजाउ गर्थे । उल्लेख्य मात्रामा आयात र निर्यात हुने नाका लामो समय राम्रोसँग सञ्चालनमा आउन सकेको थिएन । पछिल्ला दिनमा बढिरहेको व्यापार र चहलपहलले निरन्तरता पाए सीमावर्ती क्षेत्रका नागरिकको आर्थिक अवस्था सुधार्न महत्त्वपूर्ण हुने स्थानीय जनप्रतिनिधिको बुझाइ छ । 

भोटेकोशी गाउँपालिका प्रमुख पासाङनुर्पु शेर्पाले नाका सहज हुँदा दुईदेशीय व्यापारमा आएको वृद्धिले तातोपानीको स्थानीय बजारमा पहिलेको तुलनामा निकै सुधार आएको बताए । उनका अनुसार सामान ढुवानी गर्दा स्थानीयले रोजगारी पाएका छन्, त्यसबाट उनीहरूको जीवनस्तर उकास्न मद्दत पुगेको छ । ‘अहिले नाका सहज नै छ,’ उनले भने, ‘सडक सुधारमा अझै धेरै ध्यान पुर्‍याउनुपर्नेछ ।’

तोतोपानी मात्रै होइन, चीनसँग जोडिएको अर्को ठूलो नाका रसुवागढीमा पनि चहलपहल उस्तै छ । सरकारी अधिकारीहरू विगत वर्षहरूको तुलनामा उक्त नाकाबाट हुने चिनियाँ सामग्रीको आयात दोब्बरजस्तै रहेको बताउँछन् । रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकका अनुसार यो वर्ष बढी जसो बिजुलीबाट चल्ने बीवाईडी कार, जोएलङ् माइक्रोबस, किङलङ् माइक्रोबस र भ्यान भित्रिएका छन् । उनका अनुसार दैनिक ५० ओटा त्यस्ता विद्युतीय गाडी रसुवागढी भन्सारबाट प्रवेश गर्दा अन्य सामग्रीसमेत आएका छन् । 

ती सामानबाट राज्यले आकर्षक राजस्व र स्थानीयले ओसारपसारका क्रममा रोजगारी पाएका छन् । यसले उनीहरूको आर्थिक स्थिति उकास्न सघाउ पुगेको पाठक बताउँछन् । रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्री छिटोभन्दा छिटो काठमाडौं पठाउन भन्सार जाँचपास द्रुतरूपमा हुने गरेको उनले जानकारी दिए ।

उत्तरी नाकामा बढ्दो चहलपहल यो क्षेत्रबाट भएको व्यापारको आकारले पनि स्पष्ट हुन्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा यी दुई नाकाबाट जम्मा ४३ अर्ब ३५ करोड रुपैयाँको आयात र १ अर्ब २० करोड रुपैयाँको निर्यात भएको थियो । चालू आवको ११ महीनामा ९२ अर्ब ६२ करोडको आयात र १ अर्ब ६३ करोड रुपैयाँको निर्यात भएको छ । नेपालबाट चीनतर्फ हुने निर्यात सीमित छ । 

आयातकै कारण यी दुई नाकामा चहलपहल बढेको हो । गत वर्ष चीनबाट भएको आयातको करीब २० प्रतिशत सामान यी दुई नाकाबाट भित्रिएका थिए । चालू वर्षको ११ महीनामा चीनबाट भएको कुल आयातको करीब ३४ प्रतिशत वस्तु यी दुई नाकाबाट प्रवेश गरेको छ । अझै पनि चीनसँग हुने अधिकांश व्यापार समुद्री मार्गबाटै हुने गरेको छ । 

विगतमा नाका बन्द हुँदा समुद्री तथा हवाई मार्गबाट आयातनिर्यात गर्न बाध्य व्यापारीले सडक मार्गबाट चिनियाँ सामान आयात गर्ने क्रम बढेको देखिन्छ । चीनबाट सामान ल्याई बेच्ने व्यापारीका अनुसार समुद्री बाटोबाट ल्याउँदा करीब डेढ महीना लाग्छ । सडकमार्ग प्रयोग गर्दा २–३ हप्तामा सामान सीमामा आइपुग्छ । 

नेपालले १७० मुलुकसँग व्यापार गर्दै आएको छ । सबैभन्दा धेरै व्यापार भारतसँग हुन्छ । यो वर्ष ११ महीनामा भारतबाट मात्रै ९ खर्ब ८ अर्ब २९ करोडको वस्तु आयात भएको छ । निर्यात पनि भारतमै बढी हुन्छ । चालू वर्षको ११ महीनामा ९४ अर्ब ५१ करोड रुपैयाँको वस्तु निर्यात भएको विभागको तथ्यांक छ । धेरै वस्तु आयात हुने मुलुकको दोस्रो नम्बरमा चीन छ । चालू वर्षको ११ महीनामा चीनबाट २ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँको वस्तु आयात भएको छ । यस अवधिमा नेपालबाट २ अर्ब ४० करोडको वस्तु चीन निर्यात भएको छ । अधिकांश निर्यात यिनै दुई सीमा नाकाबाट भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्