संसारभर भीषण गर्मीको मार, जलवायु परिवर्तनले थप्दै छ जोखिम



काठमाडौँ,असार ९ । गत साता ‘हज’ यात्रामा गएका १८ लाख मान्छेमध्ये कम्तिमा ११७० को ज्यान गएको छ । हजारौँ यात्रीहरु आधिकारिक ‘रजिस्ट्रेशन’ नगरी गएको र परिचय पत्रहरु समेत नहुँदा मृत्यु हुनेको यकिन आँकडा अझै आउन नसकेको जनाइएको छ ।

नेपालबाट पनि यो साल ७२८ जनाले रजिस्ट्रेशन गराएका थिए । उनीहरुका लागि ६ वटा विमानमा साउदी पुर्याउने गरी सरकारले उडान तालिका प्रकाशित गरेको थियो । तर नेपालीहरुको सवालमा कुनै दुःखद खबर आएको छैन ।

यद्यपि, शनिबारसम्म मीश्रका ६५८ जना, इन्डोनेसियाका २०० जना र भारतका ९८ जनाको मृत्यु पुष्टि भएको ती देशले जनाएका छन् । पाकिस्तान, मलेसिया, जोर्डन, ईरान, सेनेगल, ट्युनिसिया, सूडान, इराक लगायत देशका सरकारले पनि तीर्थयात्रामा गएका आफ्ना नागरिकहरुको मृत्यु पुष्टि गरेका छन् ।

साउदी अरबको मक्कामा ५१.८ डिग्री सेल्सियससम्मको तापक्रम सामना गर्नु परेको र गर्मी हावा (लू) लागेका कारण धेरैले ज्यान गुमाएको बताइएको छ । मक्कामा १ हजार सालदेखि गर्मीमा हज यात्रा हुँदै आएको छ भने कम्तिमा ६०० वर्षयता लगभग हरेक साल तीर्थयात्रीहरुको मृत्यु हुँदै आएको छ । तर यो साल आँकडा बढी देखिएको हो ।

गर्मीको जोखिम संसारभरी बढेको छ । हालैको एक अध्ययनले भारतका ४५ प्रतिशत घरमा वितेको १ महिनामा कोही न कोही विमारी परेको उल्लेख गरेको छ । त्यसमा पनि धेरै मानिसहरु ५ दिनभन्दा लामो समय बिरामी भए ।

भीषण गर्मीको मार गरिब र बेघर मानिसहरुले बढी खेप्नु परेको छ । श्रमिकको स्वास्थ्यमा पनि गर्मीले खराब असर पारेको छ । सन् १९९२ देखि २०१९ सम्म भारतमा गर्मीका कारण २५ हजारभन्दा धेरैको ज्यान गएको आधिकारिक आँकडा छ । वास्तविक संख्या योभन्दा धेरै हुनसक्छ ।

अमेरिकामा कयौँ ठाउँमा भीषण आगजनी भएको छ । त्यहाँ डँढेलोबाट जोगिन सयौँ परिवारले घर छाडेर राहत केन्द्रमा शरण लिएका छन् । अमेरिकाका केही सहरमा एक सातासम्म ४० डिग्रीभन्दा बढी तापक्रम रहनसक्ने ‘अलर्ट’ जारी गरिएको छ ।

‘हिट वेभ’ (लू)का कारण युरोपमा पनि लाखौँ मानिस प्रभावित भएका छन् । युरोपमा वास्तविक गर्मी सुरु हुने बेला भएकै छैन । त्यहाँ जुलाई र अगष्ट महिनामा ज्यादा गर्मी हुने गरेको छ । तर यो साल चाँडै नै गर्मी बढेको छ ।

बढ्दो गर्मीका कारण एक महिनापछि हुने पेरिस ओलम्पिक र प्यारा ओलम्पिक खेलमा भाग लिनु जोखिमपूर्ण हुनसक्ने देखिएको छ ।

पछिल्लो समय उष्णकटिबन्धीय (ट्रपिकल) देशहरुमा जलवायु परिवर्तनका कारण गर्मीको जोखिम अझ बढ्न थालेको वैज्ञानिकहरुले बताएका छन् । त्यसमध्ये पनि मनसुन प्रणाली सक्रीय हुने क्षेत्रमा जलवायु प्रकोप ज्यादा देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्