इटालीमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, मृत्यु हुनेको संख्या ३४ पुग्यो



रोम,असार ९ । इटालीको दक्षिणी तटीय क्षेत्रमा यस साताको शुरुमा एक भएको आप्रवासी बोकेको जहाज दुर्घटनामा थप १४ जनाको शव फेला परेको त्यहाँको तटरक्षकबलले जनाएको छ । सोमबार राति क्यालाब्रियाको तटमा डुंगा डुब्दा ६० जनाभन्दा बढी बेपत्ता भएका थिए भने ११ जनाको उद्धार गरिएको थियो ।

‘आज थप १४ जनाको शव फेला परेको छ। कुल ३४ जनाको शव निकालिएको छ,’ कोस्टगार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ। हराइरहेकाहरुको हवाई र समुन्द्री खोजी कार्य जारी रहेको बताइएको छ । कोस्टगार्डले बिहीबार महिला र बालबालिकासहित थप १२ जनाको शव फेला परेको जनाएको थियो । 

मेडिकल च्यारिटी डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले यसै हप्ताको सुरुमा २६ जना बालबालिकासहित ६६ जना हराइरहेको जानकारी दिएको थियो । तिनीहरू टर्कीबाट हिंडेका थिए र क्यालाब्रियाको तटबाट लगभग १२० समुद्री माइल टाढा डुबेका थिए ।

बेपत्ता हुनेमा अफगानी परिवार पनि रहेको एमएसएफले जनाएको छ । इटालीको लाम्पेडुसा टापुमा सोमबार एउटा डुङ्गामा १० जनाको शव फेला परेको जर्मन सहायता समूह रेसक्युशिपले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार गत वर्ष भूमध्यसागरमा तीन हजार १५५ आप्रवासीको मृत्यु वा बेपत्ता भएको थियो । 

यस वर्ष अहिलेसम्म एक हजारभन्दा बढीको मृत्यु भएको छ वा बेपत्ता भएका छन् । मध्य भूमध्यसागरीय क्षेत्र-उत्तरी अफ्रिका, इटाली र माल्टाको बीचमा रहेको क्षेत्र- विश्वको सबैभन्दा घातक ज्ञात आप्रवासन मार्ग हो, जुन भूमध्यसागरमा हुने मृत्यु र बेपत्तामध्ये ८० प्रतिशत हो । धेरै आप्रवासीहरू ट्युनिसिया वा लिबियाबाट डुङ्गामा यात्रा गर्छन्, इटाली प्राय: उनीहरूको पहिलो बन्दरगाह हो। गृह मन्त्रालयका अनुसार सन् २०२३ को सोही अवधिमा ५८ हजार ६ ०० भन्दा बढीको तुलनामा यो वर्ष इटालीमा करिब २४ हजार ५०० मानिस भित्रिएका छन् ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्