टीबीएम मेसिनबाट खन्दै दुधकोशी जलविद्युत आयोजनाको मुख्य सुरुङ



काठमाडौं,असार ९ । दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको मुख्य सुरुङ खन्ने कार्यमा टिबिएम मेसिन  (टनेल बोरिङ मेसिन) प्रयोग हुने भएको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत बिमल गुरूले ९ महिनादेखिको  अथक प्रयासपछि टिबिएम प्रयोग गर्न सफल भएको जानकारी दिएका हुन । उनका अनुसार आयोजनाको १३ किलोमिटर लामो मुख्य सुरुङ खन्नेकाम टिबिएम मेसिनबाट गरिने भएको छ ।

‘एक वर्षअघिसम्म दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको मुख्य सुरुङ खन्ने कार्यमा टिबिएम को ‘टी’ पनि उच्चारण नगरिरहेको वातावरणबाट विगत ९ महिनादेखिको हाम्रो अथक मेहेनत, अन्तर्क्रिया, सुनकोशी-मरिणको स्थलगत अवलोकन भ्रमण, विस्तृत अध्ययन, टिबिएम बनाउने कम्पनीका विज्ञहरूसँग छलफलपश्चात् १३ किलोमिटर लामो मुख्य सुरुङको निर्माण अब टिबिएम प्रविधिबाट निर्माण गर्ने भएका छौं,’एक प्रेसनोट जारी गर्दै उनले भनेका छन् ।

उनका अनुसार आयोजनाको इटालियन परामर्शदाता (ईएलसी ईलेक्ट्रोन कसल्ट्यान्ट) कम्पनी ‘एसपीए’ले शनिबारमात्र टिबिएम बाट मुख्य सुरुङ खन्ने कार्य सम्भव भएको सिफारिस गरेको छ । आयोजनाले परामर्शदाता कम्पनीलाई  विभिन्न विकल्पहरू र सुझावहरू दिँदै ६ वटा पत्रहरू पठाएका थियो । परामर्शदाता कम्पनीले टिबिएम प्रयोग गर्न सकिने भन्दै सिफारिस गरेको हो । यसकालागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समेत आयोजनालाई सहयोग गर्दै आएका थिए ।

टिबिएम मेसिननै किन ? 

गुरूङले पराम्परागत ब्लास्टिङ प्रविधिको सट्टा टिबिएम बाट मुख्य सुरुङको निर्माण गर्दा प्रत्यक्ष रूपमा फाइदाहरू देखिएको बताएका छन् । उनका अनुसार  ४ किलोमिटर लामो विभिन्न अडिट सुरुङहरू खन्नु नपर्ने हुँदा करिब ३ लाख २२ हजार घनमिटर चट्टान/माटो खन्ने काम घट्ने, ८ किलोमिटर सहायक सडकहरू बनाउनु नपर्ने, करिब २ लाख २६ हजार घनमिटर कंक्रिट कम हुनेछ ।

मुख्य र अडिट सुरुङहरू खन्न करिब ३,६०० टन विष्फोटक पदार्थ नचाहिने, पुरानो विधिमा ३ कि.मि. सम्म लामा अडिट सुरुङहरूको स्लोप भित्रतिर अर्थात् नेगेटिभ स्लोप भएको कारणले निर्माणताका पम्पिङ गर्नुपर्दा र माटो निकाल्ने क्रममा ठुलो धनराशी खर्च हुने भएकोमा  टिबिएम प्रविधिमा त्यो खर्च बचत हुने गुरूङले बताएका छन् ।

त्यस्तै, मानवीय हताहत शून्य जस्तै हुने, भौगर्भिक जोखिम घट्ने, सुरुङको चट्टान/माटो खन्ने काम ठूलो मात्रामा घटेको तथा सडक बनाउनु नपर्ने कारण वातावरणीय प्रभाव घट्ने उनको भनाइ छ ।

अन्य आयोजनाहरूमा टिबिएम प्रविधि करिब दोब्बर नै पर्ने देखिएको भए पनि दुधकोशीमा अडिट सुरुङहरू लगायतका कार्य र वातावरणीय असर घट्ने भएकोले हालको दरविश्लेषण र अन्य लागतहरू हेर्दा दुवै प्रविधिहरूमा खर्च करिब समान हुने देखिएको छ ।

नेपालमा जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत भेरी-बबई र सुनकोशी-मरिण डाइभर्सन आयोजनाहरूको मुख्य सुरुङहरूको निर्माण कार्य टिबिएम प्रविधिबाट सफलतापूर्वक सम्पन्न भइसकेको हुनाले आत्मविश्वास जागेको गुरूङले बताएका छन् । यस अधि बहुउद्दश्यीय आयोजना भेरी-बबइ र सुनकोशी-मरिन डाइभर्सनमा मात्र टिबिएमको प्रयोग भएकोमा जलविद्युतमा दुधकोशी जलाशययुक्त आयोजना टिबिएम प्रविधि प्रयोग गर्ने नेपालको पहिलो जलविद्युत आयोजना हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्